१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

कोरोनाविरुद्धको खोपमा लक्ष्य नजिक सरकार, खोप लगाउन थालेपछि सङ्क्रमण घट्दै



काठमाडौं । नेपाल सरकारले अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको कोरोना भाइरस विरुद्धको खोप लगाइसकिएको छ । योसँगै सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोज मसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिनुभयो । असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो । अहिले दैनिक खोप अभियान सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक एक लाखभन्दा बढी जनाले खोप लगाइरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भए लगत्तै कोरोना भाइरस विरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा रहने बताउनुभएको थियो । सरकारको घोषणा अनुरुप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरिद गरेर खोप ल्याउने नीति लिएको हो ।

सरकारले १८ वर्षभन्दामाथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाइसक्ने जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने प्रक्षेपण गरेको छ ।

अहिलेसम्म पूर्वरुकुम, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्णमात्राको खोप लगाइसकेका छन्। दाहालका अनुसार कूल जनसङ्ख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन्। खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण दर पनि घट्दै गइरहेको छ। अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ।

नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ। बालबालिकाका लागि समेत चाँडै एक लाख मात्रा खोप ल्याउने सरकारको योजना छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने तयारी गरेको छ। त्यसका लागि मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा खोप ल्याउन सरकारले पैसा पनि बुझाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !