१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

विज्ञान, अंग्रेजी र नेपाली विषयमा शिक्षक अभाव, २ हजार ५९३ दरबन्दी रिक्त



काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा धेरै शिक्षक अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो ।

केन्द्रको विवरण अनुसार निमाविमा नेपाली ४३६ र विज्ञानमा ४४० जना शिक्षकको दरबन्दी रिक्त रहेको छ भने माविमा विज्ञान ४३३, अंग्रेजी ३१३ र नेपाली २३० शिक्षक दरबन्दी रिक्त रहेको छ । केन्द्रले आयोगमा पठाएको विवरणमा खुला तर्फ निमाविमा अंग्रेजी ६२२, सामाजिक ३५२, गणित विज्ञान ३६४, गणित ३७०, ऐच्छिक प्रथममा ९ गरी जम्मा २ हजार ५९३ दरबन्दी रिक्त रहेको उल्लेख छ ।

त्यस्तैगरी माध्यमिक तहमा नेपाली २३०, सामाजिक २०१,गणित २२८, ऐच्छिक प्रथममा १८ र ऐच्छिक द्वितीयमा ५९ गरी जम्मा १ हजार ५४२ शिक्षक दरबन्दी रिक्त रहेको छ । प्राथमिक तहमा १२ हजार ९१२ दरबन्दी रिक्त रहेको विवरण पठाएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।

बढुवाका लागि दरबन्दी सिफारिस

केन्द्रले ७५ प्रतिशत आन्तरिक बढुवाका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि ३४८ र द्वतीय श्रेणीका लागि १ हजार २७५ दरबन्दी बढुवाका लागि आयोगले सिफारिस गरेको छ । उक्त सिफारिस अनुसार निमावितर्फ ७५ प्रतिशत आन्तरिक बढुवाका लागि, प्राथमिक तहमा प्रथम श्रेणीका लागि ७० र द्वितीय श्रेणीका लागि ३६८ र माविका लागि प्रथम श्रेणीका लागि ११० र द्वतीय श्रेणीका ३७१ शिक्षक आयोगले छनोट गरेर सिफारिस गर्ने गरी रिक्त शिक्षक दरबन्दी पठाएको छ ।

त्यसैगरी, २५ प्रतिशत विज्ञापनका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि १०४ र द्वितीय श्रेणीका लागि ४१८, निमावितर्फ प्रथम श्रेणीका लागि ८ र द्वितीय श्रेणीका लागि ११० र माविका लागि प्रथम श्रेणीका लागि १४ र द्वितीय श्रेणीका ११३ गरी शिक्षक छनोट गर्ने अधिकार केन्द्रले आयोगलाई दिएको छ ।


प्रतिक्रिया दिनुहोस !