सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्नुपर्ने « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्नुपर्ने



बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतवार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल संचालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ ।

छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्का सम्बन्धी कागजातमा दिउसो र राती गरी २ सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिए । ‘दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन,’ उनले भने, ‘रात्री सिफ्टमा बत्ती बालेर भएपनि काम गर्नुपर्‍यो, हामीले पनि बेला बेला नसुतेरै भएपनि अनुगमन गर्नुपर्‍यो ।’

निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी संख्यामा ठेक्का दिएर पनि आयोजनाहरु अलपत्र परेको भन्दै उनले अब यसलाई पनि कानुन सच्याउने तयारी रहेको जानकारी दिए । यस्तै मन्त्री शर्माले आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने बताए ।

मन्त्री शर्माले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरु संचालन गर्ने गरी तयारी भैरहेको जानकारी समेत दिए । धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थाका उद्योगहरु नयाँ मोडालिटी बनाएर संचालन गरिने उनले बताए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्राविधिक विधाका विद्यालयहरुमा सुरु गर्ने, सहकारीले कम्पनी खोलेर लगानीको ५० प्रतिशत उत्पादनको क्षेत्रमा लगाउने जस्ता कार्यक्रमहरु तत्काल सुरु गर्ने गरी प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिए ।

यस्तै श्रम सहकारीहरुमार्फत १० करोडसम्मको सार्वजनिक निर्माणको कार्य गर्न पाउने कार्यविधि चाँडै टुङ्गो लगाएर काम सुरु गरिने उनले बताए । यसबाट देशमा थप ५ लाख रोजगारी सृजना हुने अर्थमन्त्रीको अनुमान छ । उपभोक्ता समितिहरुबाट गर्नुभन्दा श्रम सहकारीहरुबाट यस्तो काम गर्नु संस्थागत हुने र वास्तविक श्रमिकहरु लाभान्वित हुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


विपद्मा परेकालाई सरकारले राहत दिनुपर्छ : वरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताउनुभएको छ । उहाँले विपद्मा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुटन आग्रह गर्ने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा नेता पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको रक्षाका लागि कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस बलियो भयो भने मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुन्छ र लोकतन्त्रको रक्षा भए मात्रै नेपाल राष्ट्रको स्वाधिनताको रक्षा हुन्छ ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको सबलता र सक्षमता नेपालको लोकतन्त्रसँग गाँसिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

अध्यात्मिक शिक्षाले मानव कल्याण र विश्व शान्तिको मार्ग देखाउँछः मुख्यमन्त्री राउत



जनकपुरधाम, ६ कात्तिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउन अध्यात्मिक शिक्षाको महत्व रहेको बताएका छन् ।

जनकपुरधाम उपमहनगरापालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले भने, ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन् । धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सदभाव बढाउछन, भाइचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सत्रुधन महतो, राम अशिष यादव , परमेश्वर साह, शारदा थापासहित समाजसेवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत



धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’

९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी १० मंसिरमा राष्ट्रिय महाधिवेशनको समय तोकिएको छ । पार्टीको महाधिवेशनपश्चात मात्रै जिल्ला अधिवेशन हुने उनले बताए । पार्टीको वडा अधिवेशन गराउन यतिबेला एमालेका जिल्ला नेताहरु आ-आफ्ना क्षेत्रमा सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: