
एजेन्सी। आइसीसी टि २० विश्वकप अन्तर्गत पहिलो चरणको खेल अन्तर्गत समूह बी को खेलमा बंगलादेशले ओमानलाई पराजित गरेको छ। बुधबार राती भएको खेलमा बंगलादेशले ओमानलाई २६ रनले पराजित गरेको हो। बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २७ रनमा समेटियो। ओमानका जतिन्दर सिंहले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए।
काश्यप प्रजापतिले २१,मोहम्मद नदीमले अविजित १४ र कप्तान जिशान मकशूदले १२ रन जोडे। बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए।सकिब अल हसनले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। मेहदी हसन र मोहम्मद सैयफुद्दीनको नाममा एकएक विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ५३ रन जोडेको थियो।बंगलादेशका ओपनर मोहम्मद नैमले ५० बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रन जोडे। सकिब अल हसन २९ बलमा ६ चौकासहित ४२ रनमा आउट भए।महमुदुल्लाह रियाज १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा आउट भए। बलिङतर्फ ओमानका बिलाल खानले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए।फयाज बटले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।कलिमुल्लाहले २ तथा कप्तान जिशान मकशूदले एक विकेट लिए।