२ जेष्ठ २०८१, बुधबार
 |   Wed May 15 2024
Logo

खानेपानी कार्यालय प्रमुखलाई अर्धनग्न बनाउने १७ सिके राउतका कार्यकर्ताविरुद्ध मुद्दा दर्ता



जनकपुरधाम । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि अमानवीय व्यवहार गर्ने १७ जनाविरूद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ । बिहीबार कुशवाहालाई कार्यालयबाटै नियन्त्रणमा लिएर कुटपिट गरी अर्धनग्न बनाउँदै हिलो पोतेर नगर परिक्रमा गराउने जनमत पार्टीका १७ जना नेता कार्यकर्ताविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको हो ।

उनीमाथि अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने प्रायः सिराहा, सर्लाही र महोत्तरीका रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उनीहरूविरूद्ध अभद्र र आपराधीक कार्य गरेको आरोपमा मुद्दा चलाइएको हो । मुद्दा लगाइएकामा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो छन् ।

यसैगरी, विजय यादव, सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध पनि मुद्दा दर्ता गरिएको छ । आरोप प्रमाणित भएमा आरोपितहरुलाई चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी प्रबन्ध छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको घर छेउ खनिएको सडक खाल्डो नपुरेको आरोपमा कुशवाहामाथि दुर्व्यवहार गरिएको थियो । जसको सर्वत्र आलोचना भएको थियो भने अरोपितहरुलाई कार्वाही गर्न माग भएको थियो । डिएसपी वस्नेतकाअनुसार पक्राउ परेका ५२ मध्ये १७ जनालाई मुद्दा चलाई अरुलाईं छाडिने भएको हो ।


प्रतिक्रिया दिनुहोस !