१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

विश्वकै लामो मुक्तिनाथ केबलकारको ईआईए सुरु, वैशाखमा शिलान्यासको तयारी



विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकारको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न वन तथा वातावरण मन्त्रालयले सहमति दिएको छ । केबलकार कम्पनी मुक्तिनाथ दर्शनले अब ईआईएको काम सुरु गर्ने अध्यक्ष अरुणकुमार सुवेदीले बताए ।

‘अनुमति मागेको दुई वर्षपछि ईआईए गर्न सरकारबाट अनुमति पाएका छौं’, उनले भने, ‘अब आयोजनामा ईआईएको काम सुरु गर्ने छौं ।’ स्थानीय तहले गर्ने सहजताका आधारमा ईआईए पूरा हुने उनको भनाइ छ ।

स्थानीय तहले सहयोग गरेमा निर्धारित समयमा ईआईएको काम सकेर आउँदो २०७९ वैशाखभित्र केबलकारको शिलान्यास गर्ने उनले सुनाए । ईआईए सकिने बित्तिकै केबलकारको संरचना बनाउने काम सुरु हुनेछ । 

ईआईए सकिनासाथ लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पीडीए) हुने अध्यक्ष सुवेदीले सुनाए । काम सुरु गरेको ६ महिनामा ईआईएको काम सक्ने लक्ष्य मुक्तिनाथको छ । ईआईएको क्रममा विभिन्न स्थानमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने हुन्छ । यसमा स्थानीय तहको सहयोग आवश्यक पर्ने उनको भनाइ छ । 

मुक्तिनाथले केबलकारको डीपीआर तयार पारी गत वर्षको कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो ।  यो वर्ष पीडीए, वित्तीय व्यवस्थापन र निर्माण सम्झौताको काम सकेर आगामी वर्षदेखि केबलकार संरचनाको निर्माण थाल्ने योजना मुक्तिनाथ दर्शनको छ । 


प्रतिक्रिया दिनुहोस !