१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

हाथवेले ५० रुपैयाँमै आईपीओ निष्काशन गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक नियुक्त



हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा साधारण सेयर निष्कासन गर्ने भएको छ। कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ। सेयर जारी गर्नका लागि हाथवेले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

आइतबार हाथवे इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

साधारणतया नेपालमा सर्वसाधारणलाई प्रारम्भिक सार्वजिनक निष्काशन (आईपीओ) मार्फत सेयर जारी गरेका कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य राख्ने गरेका छन्। विगतमा सोल्टी होटलले १० रुपैयाँ अंकित मूल्यमा सेयर जारी गरेको भएपनि लामो समयदेखि सय रुपैयाँभन्दा कम दरमा साधारण सेयरको सार्वजनिक निष्काशन भएको छैन। यस अर्थमा हाइथवेले धेरैपछि सय रुपैयाँभन्दा कम मूल्यमा सेयर जारी गर्न लागेको हो।

धितोपत्रको मूल्यका सम्बन्धमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को बुँदा ४२ (१) मा भनिएको छ- ‘साधारणतया धितोपत्रको अंकित मूल्य शेयरको हकमा प्रतिइकाई एक सय रुपैयाँ,  डिबेञ्चरको हकमा प्रति इकाई एक हजार रुपैयाँ र सामूहिक लगानी योजना वा एकाइअन्तर्गतको धितोपत्रको हकमा प्रति इकाई दश रुपैयाँ हुनेछ।’

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले कुनै पनि कम्पनीले सेयर निष्कासन गर्दा प्रवर्द्धकले तिरेको प्रतिकित्ता मूल्यभन्दा बढी दरमा सर्वसाधारणलाई सेयर बिक्री गर्न नपाइने कानूनी व्यवस्था रहेको बताए। यद्यपि, कानूनले आईपीओका लागि कुनै निश्चित मूल्य भने नतोकेको गिरीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !