१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

कांग्रेस केन्द्रीय सदस्यको मतगणना रातिसम्म सक्ने तयारी, ८ सय मत गन्दा यी हुन् टप टेनभित्र पर्ने नेता



नेपाली कांग्रेसको खुलातर्फ ३५ केन्द्रीय सदस्यको लागि भएको मतगणनाको विवरण बाहिर नल्याई निर्वाचन समितिले सकेसम्म राति अबेरसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

३५ केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार छन् । खुलातर्फ कांग्रेसका प्रभावशाली र बरिष्ठ नेताहरुबीच प्रतिस्पर्धा छ । निवर्तमान महामन्त्री डा.शशांक कोइराला दुवैतर्फको प्यानलमा परेकाले पहिलो नम्बरमा छन् ।

१२ ठाउँमा भइरहेको गणनाको पछिल्लो मत संख्या सार्वजनिक गरिएको छैन । मतगणनास्थलमा रहेका एक कांग्रेस नेताका अनुसार ८ सय मत गन्दा पहिलो नम्बरमा शशांक छन् भने दोस्रो नम्बरमा बालकृष्ण खाँण छन् ।

तेस्रो स्थानमा ज्ञानेन्द्रवहादुर कार्की रहँदा चौथोमा रामहरी खतिवडा र पाँचौ स्थानमा अर्जुन नरसिंह केसी छन् । त्यस्तै छैटौंमा रमेश लेखक, सातौंमा एनपी साउद, आठौंमा रामशरण महत र नवौंमा दिलेन्द्र बडू छन् भने बलवहादुर केसी दशौं नम्बरमा छन् ।

तर विभिन्न बुथमा गनेको मत तलमाथि भइरहेको छ । शुरुमा एक सय मत गन्दा दोस्रो नम्बरमा रहेका उदय शमसेर जबरा पछिल्लो चरणमा टप टेनभन्दा बाहिर परेका छन् ।

मतगणना आधा नाघेपछिमात्र ३५ जनामा को को पर्छन् भन्ने आँकलन गर्न सकिने निर्वाचन समितिका एक सदस्यले बताए । गणना भइरहँदा केन्द्रीय सदस्यका उम्मेदवारमध्ये कतिपय आफैं गणनास्थलमा छन् भने केहीले प्रतिनिधि पठाएका छन् ।


प्रतिक्रिया दिनुहोस !