२८ बैशाख २०८१, शुक्रबार
 |   Fri May 10 2024
Logo

प्रहरीले चलाएको रबरको गोली लागि सिके राउत नेतृत्वको पार्टीका पाँच जना घाइते



जनकपुरधाम, १८ पुस

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको पोर्ताहामा अवरुद्ध सडक खुलाउने क्रममा प्रहरीले रबरको गोली चलाएको छ । रबरको गोली लागेर सिके राउत नेतृत्वको जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् ।

पूर्व घोषित कार्यक्रम अनुसार जनमत पार्टीका करिब दुई दर्जन कार्यकर्ता दिउँसो १२ बजेतिर पोर्ताहास्थित पूर्व–राजमार्ग अवरुद्ध गर्न पुगेका थिए । घटनास्थलबाट केही किलोमिटरको दुरीमा रहेको विरेन्द्र बजारबाट खटेको टोलीले उनीहरुलाई रोकेको थियो । आन्दोलनकारी पछि नहटेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

सडक खुलाउन प्रहरीले १६ राउण्ड आश्रुग्यास प्रहार गरेको थियो । प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरी ११ राउण्ड रबरको गोली चलाएको थियो । त्यस क्रममा जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएको धनुषाका प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

जनमत पार्टीका विद्यार्थीका धनुषाका अध्यक्ष विजय कुमार यादव, दलित संगठन धनुषाका उपाध्यक्ष रामदयाल मुखिया, युवा संगठनका जिल्ला उपाध्यक्ष नथुनी यादव, जिल्ला सचिव वैजनाथ यादव र जिल्ला सदस्य संजय साह घाइते भएका छन् । घाइतेहरुको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । उनीहरुको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

यता, जनमत पार्टीका अध्यक्ष सिके राउत घटना पश्चात घाइतेहरुको अवस्थाबारे जानकारी लिन प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए । घटनाको निन्दा गर्दै अध्यक्ष राउतले किसानको हक अधिकारको विषयमा उठेको अवाज दवाउन प्रहरीले आन्दोलनकारी माथि दमन गरेको आरोप लगाए ।

विगत १० दिनदेखि किसानका विभिन्न मागलाई लिएर आन्दोलन गरिरहेपनि राज्यले कुनै सुनवाइ नगरेको भन्दै राउतले भने,‘नस्लीय प्रहरीले हाम्रा कार्यकर्तामाथि दम्भ देखाएको छ । रबरको मात्रै नभई प्रहरीले असली गोली पनि चलाएको हामीले पाएका छौं ।’ गोली चलाएको घटनाको छानबिन हुनुपर्ने उनको भनाइ छ । आफूहरुको आन्दोलन सोमबारदेखि थप कडा हुने उनले चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस !