७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

बालमन्दिरको पैसाबाट सचिवलाई निजी गाडी, कांग्रेसको भातृसंगठनलाई चन्दा



काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनका पदाधिकारीहरुले सरकारी जग्गा अनियमित रुपमा लिजमा दिनुका साथै बालबालिकाको रेखदेख र पालनमा खर्च गर्नुपर्ने पैसासमेत दुरुपयोग गरेको फेला परेको छ । बाल संगठनले २२ कात्तिक २०७७ मा जारी गरेको श्वेतपत्रअनुसार टिनको जस्ता पाता भएको बालगृह बर्खामा पानी चुहिएर हिलाम्ये हुने स्थितिमा छ । कर्मचारीहरुको दाबीमा, संगठनलाई अधिवेशन गर्न समेत पैसा छैन । तर, संगठनका पदाधिकारीले भने आफूखुशी सुविधा लिने र जथाभावी संगठनको पैसा वितरण गर्ने गरेको भेटिएको छ ।

बाल संगठनको सञ्चालक समितिको १२ फागुन २०७१ मा बसेको बैठकले उपकोषाध्यक्ष दिपकदास श्रेष्ठलाई काजकिरिया वापत सहयोग भन्दै ५० हजार रुपैयाँ दिने निर्णय गरेको भेटिएको छ भने सञ्चालक समितिको यही बैठकले जैन समुदायबाट महाश्रवणको स्वागतका लागि भएको खर्चमा सहयोग भन्दै ७५ हजार रुपैयाँ चन्दा दिने निर्णय पनि भएको छ । केन्द्रीय समिति बैठकले २५ असार २०७४ मा बाल संगठन, भोजपुरकी सभापति युरी राईको छोरीको स्वास्थ्य उपचारका लागि भन्दै १५ हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको समेत पाइएको छ ।

संगठनको पदाधिकारी बैठकले अध्यक्ष रिता सिंहलाई मासिक ९० लिटर इन्धन र प्रत्येक चौमासिकमा गाडी मर्मतवापत ४ हजार रुपैयाँ गरेर १ लाख ५८ हजार ४ सय रुपैयाँ दिने निर्णय गरेको भेटिएको छ । १२ फागुन २०७१ मा फेरि सिंहलाई मासिक ३० हजार र १५० लिटर पेट्रोल सुविधा उपलब्ध गराउने निर्णय भएको फेला परेको छ । यही बैठकले तत्कालीन महासचिव सुवासकुमार पोखरेललाई वार्षिक १२ सय लिटर पेट्रोल र गाडी मर्मतवापत वार्षिक २० हजार रुपैयाँ दिने निर्णय गरेको छ । काठमाडौं–खोटाङ मासिक दुई पटक दोहोरो विमान भाडा उपलब्ध गराउने निर्णय पनि भएको देखिन्छ । त्यसवापत २०७५ चैत मसान्तसम्म १३ लाख २८ हजार रुपैयाँ वितरण गरेको देखिन्छ ।

बाल संगठनको विधान अनुसारको आर्थिक नियमावली र कार्यविधिमा केन्द्रीय र जिल्ला कार्य समितिले पदाधिकारी, सदस्य र सल्लाहकारहरुले संगठनको सेवा सुविधाबारे कुनै प्रावधान छैन । यस्तोमा पदाधिकारीले आफूखुशी सुविधा तोकेर जथाभावी रकम लिएको समेत विवरण पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन उल्लेख छ । बाल संगठनका पदाधिकारीले संस्थाको रकम नेपाली कांग्रेसको कार्यक्रम सञ्चालनदेखि भातृ संगठन नेविसंघलाई चन्दा दिन समेत खर्च गरेको भेटिएको छ । बाल संगठनको केन्द्रीय समितिमा २०४६ सालदेखि १२ साउन २०७७ सम्म रिता सिंह वैद्य नेतृत्वमा थिइन् । उनी कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । राजनीतिक पहुँचका आधारमा उनी झण्डै तीन दशकदेखि बाल संगठनको नेतृत्वमा बसेकी थिइन् । प्राप्त विवरण अनुसार, बाल संगठनको काठमाडौं जिल्ला कार्यसमितिले २० चैत २०६९ मा नेपाली कांग्रेस, नवलपरासीले आयोजना गरेको पोशाक वितरण कार्यक्रमलाई चन्दा दिने निर्णय गरेको फेला परेको छ ।

बाल संगठनको पैसाबाट ८ वैशाख २०७१ मा सुन्दरी जल युवा जनजागरण अभियान समूहको मुटु रोग शिविरलाई सहयोग भन्दै १४ हजार ५ सय रुपैयाँ दिएको भेटिएको पनि छ । २३ माघ २०७१ मा चो गाउँ तामाङ समाजलाई ल्होसार बनाउन सहयोग भन्दै १० हजार रुपैयाँ दिने निर्णय गरेको फेला परेको छ । रोचक त ११ चैत २०७१ मा बाल संगठनको काठमाडौं शाखा सचिव रहेका राजेन्द्रकुमार श्रेष्ठ अध्यक्ष रहेको ढल निर्माण उपभोक्ता समितिलाई २ लाख १० हजार रुपैयाँ ऋण दिने निर्णय भएको देखिन्छ ।

गोकर्णेश्वर –४ मा रहेको आशदिप संस्थामा रहेका मानसिक रोगीहरुलाई मण्डी वितरण गर्ने भन्दै १ फागुन २०७२ मा ४७ हजार १८० रुपैयाँ खर्च गरिएको छ । १८ भदौ २०७३ मा धावक रामसुन्दर कार्कीलाई सहयोग स्वरुप १५ हजार रुपैयाँ दिने निर्णय भएको छ । १५ मंसिर २०७३ मा सभापतिको बुबाआमाको दोस्रो देवरथारोहणका लागि अभिनन्दन र दोसल्लामा सहयोग भन्दै १३ हजार रुपैयाँ दिने निर्णय भएको देखिन्छ । ३० माघ २०७४ मा भुवनहेरा शाक्य अध्यक्ष रहेको इटुम्बहाल मिसःपुचः को बेल विवाह कार्यक्रम आयोजना गर्न ५ हजार रुपैयाँ सहयोग गरेको देखिन्छ । १५ भदौ २०७५ मा होमप्रसाद खड्गीको छोरीको उपचार १० हजार रुपैयाँ बराबरको उपचार दिने निर्णय भएको देखिन्छ ।

ललितपुरमा त बाल संगठनको पैसाले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघलाई सहयोग गरेको समेत भेटिएको छ । २२ असार २०६४ मा संगठनले रामकृष्ण चित्रकार अध्यक्ष उठेको नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई १५ हजार रुपैयाँ सहयोग दिएको भेटिएको छ । ३१ भदौ २०७१ मा बाल दिवस र गणेशमान सिंह प्रतिष्ठानको कार्यक्रमका लागि टिकट खरिद गर्न भन्दै २६ हजार २५० रुपैयाँ दिने निर्णय भएको देखिन्छ । कतिसम्म भने २९ असोज २०७६ मा पाले जयनारायण घिमिरेलाई सेवा वापत विदाइ गर्न भन्दै १ लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको छ ।

बाल संगठनको काठमाडौं जिल्ला समितिले सभापतिले प्रयोग गर्ने आईप्याड खरिद गर्ने निर्णय २२ माघ २०६९ मा गरेको देखिन्छ भने १ फागुन २०७३ मा जिल्ला भ्रमण खर्च भन्दै १ लाख ६३ हजार ४५० रुपैयाँ खर्च गरेको पनि देखिएको छ । ४ भदौ २०७२ मा बाल संगठनको पैसाबाट राजेन्द्र श्रेष्ठको नाममा अल्टो ८०० एलएक्सआई गाडी खरिद गर्ने निर्णय भएको समेत देखिन्छ । त्यसबेला जिल्ला कार्यसमितिमा सचिव रहेका श्रेष्ठको व्यक्तिगत नाममा गाडी किन्न बाल संगठनको जिल्ला कार्यसमितिले किस्ताबन्दीमा पैसा दिने निर्णय गरेको भेटिएको छ ।

गाडी खरिदका लागि ऋण प्रदान गर्ने नयाँ पाटी बचत तथा ऋण सहकारी संस्थामा ऋण चुक्ता गर्न लगेको ६ लाख ८० हजार रुपैयाँ पनि नतिरी व्यक्तिगत रुपमा प्रयोग गरेको देखिएको भट्टराई आयोगले समेत औंल्याएको मन्त्रालयका एक अधिकारी बताउँछन् । पदाधिकारीले जथाभावी खर्च गरिरहँदा २०७७ मा नयाँ नेतृत्व आएपछि जारी श्वेतपत्रमा पूर्वकार्यसमितिका कारण संगठन करोडौंको ऋणमा डुबेको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय