१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सहयोग रकम दुरुपयोग भएको छैन, चाँडै खर्च विवरण सार्वजनिक गर्छाैँ : धुर्मुस-सुन्तली फाउन्डेसन



काठमाडौं । चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाबाट हात झिकिसकेको धुर्मुस-सुन्तली फाउन्डेसनले खर्च विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

सोमबार फाउण्डेशनले विज्ञप्तिमार्फत हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको, परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात सबै खर्च विवरण सार्वजनिक गर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।’

सहयोगी दाताले दिएको रकम हिनामिना भएको भन्दै आइतबार फाउण्डेशनविरुद्द मुद्दा दायर भएको थियो । फाउन्डेसनविरुद्द उजुरी परेको भोलिपल्टै धुर्मुस–सुन्तलीले विज्ञप्तिमार्फत खर्च विवरण चाँडै सार्वजनिक गर्ने बताएका हुन् । साथै, प्राप्त  सहयाेग रकम दुरूपयाेग नभएकाे पनि फाउन्डेसनले स्पष्ट रूपमा भनेकाे छ ।

साथै, आधिकारिक रिपोर्ट नआउञ्जेल परियोजनामा भएको खर्चलाई लिएर कपोलकल्पित आरोप नलगाइदिन फाउन्डेसनले आग्रह गरेको छ ।

‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !