१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कोरोना संक्रमण दर हालसम्मकै उच्च, झण्डै ७३ हजार सक्रिय संक्रमित



पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । कोरोनाको तेस्रो लहर शुरू भए यताकै यो संक्रमण दर सबैभन्दा उच्च हो । शुक्रबार पीसीआर विधिबाट संक्रमण दर ४६.३ प्रतिशत थियो । शनिबार थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । एन्टिजेन विधिबाट भने संक्रमण दर ४२.२ प्रतिशतबाट घटेर ३५.७ प्रतिशत पुगेको छ । समग्रमा संक्रमण दर ४६.३ प्रतिशत छ ।

नयाँ संक्रमितहरू मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहबाट २ हजार ८७० जना सङ्क्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना सङ्क्रमित छन् । १० वर्षभन्दा कमका १ सय ४६ जना सङ्क्रमित थपिएका छन् ।

शनिबार १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ८ लाख २० हजार २८३ जना संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर घटेर ९०.७ प्रतिशत पुगेको छ । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !