१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

गण्डकी प्रदेशमा गठबन्धनभित्र अन्तर्घात



काठमाडौँ – राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनभित्र अन्तर्घात भएको छ। गठबन्धनका मतदाताले विपक्षी एमालका उम्मेद्वारलाई मत दिएको पाइएको हो। तथापि अहिले सार्वजनिक दुई सिटको परिणाममा भने गठबन्धनकै उम्मेद्वार विजयी भएका छन्। प्रदेशबाट गठबन्धनकी कांग्रेस उम्मेद्वार कमला पन्त महिला कोटामा विजयी भएकी छन्। उनले निकटतम प्रतिस्पर्धी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन्।

पन्तले ३०८४ मतभार पाउँदा थनेतले २७२४ मतभार पाइन्। गठबन्धनबाट सात मत क्रस भएको छ। प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छोडेको पाइएको छ।

पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत पाइन्। स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाएकी छिन् भने थनेतले ७४ मत पाइन्। यस्तै दलित कोटा पनि गठबन्धनले जितेको छ। गठबन्धनका भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन्।

सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए। यो क्लष्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली पाइएको छ। अन्य कोटाटर्फको परिणाम भने आउँदैछ। अन्यतर्फ गठबन्धनबाट माओवादीका सुरेश आले मगर र एमालेबाट पूण्यप्रसाद पौड्यालले उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !