६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

केन्द्रीय कारागारमा एक वर्षमा ३६ कैदीबन्दीको मृत्यु



केन्द्रीय कारागार सुन्धारामा एक वर्षको अवधिमा ३६ जना कैदीबन्दीको मृत्यु भएको छ । विभिन्न कसुरमा दोसी ठहर भएर केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका ३६ जना कैदीबन्दीको एक वर्षको अवधिमा मृत्यु भएको केन्द्रीय कारागार कार्यालयका प्रमुख (जेलर) डोरेन्द्र निरौलाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार यो अवधिमा दुई हजार ९८४ कैदीबन्दी कारागारबाट कैद भुक्तान गरेर छुटेका छन् भने दुई हजार ९६५ कैदीबन्दीे कारागार चलान भएका छन् । “कारागार कसुर गर्ने व्यक्तिको कैद भुक्तान गर्ने ठाउँ भएकाले कैदीबन्दी आउने जाने क्रम चलिरहन्छ, जहाँ मानिसको बस्ती हुन्छ त्यहाँ जन्म-मृत्यु पनि स्वाभाविक हो, यो चलिरहने प्रक्रिया हो” , जेलर निरौलाले भन्नुभयो ।

कारागार कहिले पनि खाली नहुने भएकाले कारागारमा रहने कैदीबन्दीका लागि बाह्रै महिना खाने बस्ने, स्वास्थ्य लगायतका सबै जिम्मेवारी सरकारले लिन्छ । “कैदीबन्दीलाई सरकारले पाल्ने काम मात्रै गर्दैछ, यो जनशक्तिलाई कुनै काममा लगाउन सके फाइदा हुन्थ्यो, तर सुरक्षा संवेदनशीलता लाई ध्यान दिएर काम लगाउन पनि सजिलो छैन” उहाँले भन्नुभयो, “त्यस्तो गर्न सकेको भए उनीहरुको पनि कसरत हुन्थ्यो, मुड फ्रेस भएर बिरामी पनि पर्ने थिएनन्, बिरामी कैदीको पनि सरकारले उपचार गर्नुपर्छ ।”

कारागारभित्र यस्ता धेरै समस्या रहेकाले त्यसलाई मध्यनजर गरी गृह मन्त्रालय कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कामदारी सुविधासम्बन्धी कार्यविधि बनाएको छ । यो कार्यविधि लागू भएमा कैदीबन्दीलाई धेरै राहत मिल्ने विश्वास आफूले लिएको जेलर निरौलाको भनाइ छ ।

कारागारमा नौ हजार क्विन्टल चामल

कारागार बाल सुधार गृहसहित केन्द्रीय कारागारमा बार्षिक नौ हजार क्वीन्टलभन्दा बढी चामल मात्रै लाग्नेगरेको उहाँले बताउनुभयो । कारागारमा रहेका कैदीबन्दीका लागि सरकारले दैनिक ७५० ग्राम चामल र ६० रुपियाँको दरले भत्ता दिने गरेको छ । त्यही ६० रुपियाँबाट कैदीबन्दीले तरकारी, खाजा वा आफूलाई आवश्यक पर्ने सामान खरिदमा खर्च गर्नुपर्ने हुन्छ ।

त्यो चामलको खरिद पक्रिया भने जीटुजीबाट गर्ने हुँदा केही सस्तो पर्ने जेलर निरौलाले बताउनुभयो । उहाँका अनुसार अहिले कारागारमा खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागबाट सिधै चामल आउनेगरेको छ ।

कारागारमा पानी समस्या

कारागारमा दैनिक ११ ट्याङ्कर खानेपानी मात्रै प्रयोग हुन्छ । जेलर निरौलाका अनुसार सरसफाइका लागि बोरिङको पानी प्रयोग गरिदैआएको छ । तर अहिले त्यो बोरिङ् बिग्रेकाले कारागारभित्र पानीको समस्या भएको छ । जेलर निरौलाले भन्नुभयो, “कारागार सम्हाल्न निकै गाह्रो छ, त्यत्रो जनशक्ति छ, एक दिन पानी मात्रै आएन भने कान खान्छन्, त्यहीँमाथि विभिन्न रोगको सङ्क्रमण, झाडापखालाजस्ता रोग लाग्यो भने त झन् कति पानी चाहिन्छ, बोरिङ कहिले बन्छ केही जानकारी छैन ।”

तीन हजार १९६ कैदीबन्दी

अहिले केन्द्रीय कारागार कार्यालयको केन्द्र ब्लकमा एक हजार ७६६, भद्र ब्लकमा एक हजार ४३, महिला ब्लकमा ३८७ र ११ जना नाबालक गरी जम्मा तीन हजार १९६ जना कैदीबन्दी छन् । तीमध्ये २२८ जना विदेशी कैदीबन्दी छन् । सबैलाई समान सेवा सुविधा दिइएको निरौलाको भनाइ छ ।

कारागारमा जम्मा प्रहरी सुरक्षाकर्मीको दरबन्दी ३७६ रहेकोमा २४० जना केन्द्रीय कारागारमा छन् । नख्खुमा ४४ र डिल्लीबजार कारागारमा ९२ जना प्रहरी सुरक्षाकर्मी खटिएका छन् । सबै गरेर दैनिक करिब पाँच हजार जनशक्तिका लागि खानेपानी आपूर्ति गर्नुपर्ने हुन्छ ।

कारागारभित्र विभिन्न किसिमका खेलकुद, स्कुल, कारखाना, मन्दिरलगायत ठाउँ छ । तर पनि यी सबै कैदीबन्दीको उमेर एउटै नरहेकाले धेरैजसो कैदीबन्दी आश्रित जीवन बिताइरहेका छन् । जस्ले केही गर्न नसक्ने भएकाले उनीहरुलाई स्याहार्ने काम पनि कारागारभित्रै रहेका केही कैदीबन्दीलाई जिम्मेवारी दिइएको छ ।

कारागारमा कैदीबन्दीहरुको तीन वटा समिति छ । जस्को मुख्य नाइके, नाइकेलगायत आवश्यकताअनुसार कैदीबन्दीको समिति बनाइएको छ । त्यो समितिले कारागारभित्रको समग्र व्यवस्थापनको जिम्मेवारी लिएको छ । जिम्मेवारी पूरा गर्ने कैदीबन्दीको कैद कट्टा गर्नेलगायतको सुविधा दिइएको जेलर निरौलाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !