२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

हुतराजलाई गुप्तचरको एआइजी बनाउन दरबन्दी थप्न माओवादीको चर्को दबाब



काठमाडौं । मुश्किलले दुई हजार कर्मचारी रहेको राष्ट्रिय अनुसन्धान विभागमा एआइजी सरहको अतिरिक्त अनुसन्धान निर्देशकको पद दुई वटा बनाएर हुतराज थापालाई जसरी पनि अहिले एआइजी र पछि प्रमुख बनाउन माओवादी केन्द्रको माथिल्लो तहबाट दबाब सिर्जना गरिएको छ । यसअघि विभागमा दुई वटा दरबन्दी आवश्यक नरहेको निश्कर्ष निकालिए पनि माओवादीले हुतराजलाई अहिले अतिरिक्त अनुसन्धान प्रमुख र भदौमा प्रमुख बनाउने रोड म्याप अन्तरगत उक्त दबाब दिएको बताइन्छ ।

एआइजी सरहको उक्त दरबन्दी थप्न ओएण्डएमको आवरणभित्र रचिएको खेल आजै फाइनल गर्न लागिएको छ । हुतराज थापाको निम्ति माओवादीले सोचेको भन्दा बढी प्रेसर दिएको विभागीय स्रोतले बताएको छ । माओवादीले मुख्य सचिवलाई प्रेसर दिएको उनीहरुको बुझाइ छ ।

ओएण्डएम कमिटीको बैठक अहिले बसिरहेको छ । माओवादी र काङ्ग्रेसवीच भागबण्डा मिलाउन नयाँ उपायस्वरुप दरबन्दी थप्न लागिएको हो । ओएण्डएम सर्भे गरेर थपिने अर्को अतिरिक्त अनुसन्धान निर्देशक पदमा दुई जनालाई एकैचोटि उकाल्ने तयारी छ । तर यही सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत कुनै पनि सरकारी निकायमा नयाँ दरबन्दी नथप्ने र भएको दरबन्दीसमेत १० प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ ।

यसबीचका सम्पूर्ण प्रयास ओम जोशी र हुतराज थापालाई बढुवा गर्ने दिशातर्फ केन्द्रित रहेको देखिँदै आएको छ । राजनीतिक भागबण्डाअनुसार नेपाली काँग्रेस र माओवादीले एक एक जना अतिरिक्त अनुसन्धान निर्देशक बनाउने सहमतिमा दरबन्दी थप्न लागिएको हो ।

तर,संख्यात्मक र कार्य क्षेत्रको हिसाबले ३७ हजार दरबन्दीको सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी दुई वटा मात्र भएकोमा अनुसन्धान विभागतर्फ दुई हजार जनशक्तिको निम्ति दुई वटा एआइजीको औचित्य पुष्टि हुन गाह्रो छ । तर,जसरी पनि उक्त कार्य फत्ते गर्न मुख्यसचिवलाई दबाब दिइएको स्रोतको दाबी छ ।

तर बढुवाका दावेदार ओम जोशी, हुतराज थापा, हरिहर पौडेल र सुनिल ढकालको पाँच वर्षे कार्यकाल सकिन एक महिना बाँकी रहेकाले गत १३ गते चारै जनालाई किताबखानाबाट प्राप्त पत्र बुझाइएको थियो । राजनीतिक भागबण्डाअनुरुप ओम र हुतलाई अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा गर्ने तर पहिलो नम्बरमा हुतलाई राख्नुपर्ने अडान माओवादीले छाडेको छैन ।


प्रतिक्रिया दिनुहोस !