१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

लाल मोहम्मद हत्याले सम्झाएको १४ वर्ष पुरानो गोलीकाण्ड



काठमाडौं । २० असार २०६४ को साँझ ७ बजेतिर बानेश्वरमा रहेको रामप्रसाद शाहका साइकल पसल अगाडि बलराम पटुवार एकजना व्यक्तिको मोटरसाइकल चढेर आइपुगे ।

‘मेरो पसल अगाडि आउँदा दुवैजना अल्मलिए जस्तो देखिन्थे, केहिवेर पसलमै कसैलाई कुरे जस्तो गरेर बसिरहे,’ शाह भन्छन्, ‘झण्डै २०/२५ मिनेटपछि एकजना आएर मोटरसाइकलमा लगे ।’

त्यो मोटरसाइकल गएको १५/२० मिनेटमै अनामनगरस्थित धोवी खोला किनारमा एकजना मानिसमाथि गोली प्रहार भयो । रामप्रसादले पछि थाहा पाए, मारिने व्यक्ति आफ्नै पसलमा केही अघि मोटरसाइकलमा आएका पटुवार नै थिए ।
हुलिया हेरेर थाहा पाएअनुसार पटुवारलाई लैजाने व्यक्ति चाहिँ थापाजी भनिने लाल मोहम्मद थिए, जसको सोमबार गोठाटारमा अज्ञात समूहले हत्या गरेको छ ।

प्रहरीका अनुसार २० असार २०६४ को त्यो साँझ सुनसान रहेको खोला किनारमा लगेर पटुवारको हत्या भएको थियो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फेरिन्सक विज्ञ डा. तुलसी कँडेलले गरेको पोष्टमार्टमको रिपोर्ट अनुसार पटुवारको शरीरमा चार वटा गोली लागेको थियो ।केन्द्रीय विधि विज्ञान प्रयोगशलामा भएको गोलीको जाँचबाट हत्याका लागि ‘होममेड वान एमएम क्यालिबर पेस्तोल’ प्रयोग भएको खुलेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मोहम्मदलाई मोटरसाइकलमा लिएर गएका लाल मोहम्मदको पूर्वयोजना अनुसार तयार गरेर राखेका उनका साथीहरुको समूहले पटुवारलाई गोली हानेको थियो ।

पटुवार हत्या प्रकरणको अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हाल मारिएका मोहम्मद र पटुवार त्यसबेला मुन्ना खान नामक व्यक्तिको समूहमा रहेर नक्कली भारतीय नोटको कारोबारमा संलग्न रहँदै आएका थिए ।

मुन्ना खान भनिएका ती व्यक्ति नेपालमा ‘फेक करेन्सी किङ’ भनेर चिनिने बाराका इल्ताफ हुसेन अन्सारी भएको जानकारहरु बताउँछन् । हाल उनी १७ किलो अवैध सुनचाँदी कारोबार र अवैध हातहतियारसम्बन्धी कसूरमा नख्खु कारागारमा छन् ।

इल्ताफको समूहमा रहेर उपेन्द्र चौधरी, वाहीद खान, असरफ अली लगायतले पनि नेपालमा रहेर नक्कली भारतीय रुपैयाँको कारोबार गरिरहेका थिए । त्यसबेला पक्राउ परेपछि प्रहरीमा लाल मोहम्मदले दिएको बयान अनुसार पटुवारपछि इल्ताफबाट टाढिएका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पटुवार उनीहरुलाई ‘बाइपास’ गरेर उपेन्द्रसँग मिलेर नक्कली नोटको कारोबार गर्न थालेपछि इल्ताफले पनि असुरक्षित महसुस गरेका थिए । त्यसबेला इल्ताफ जाली नोटका मुख्य कारोबारी युनुस अन्सारीसँग छुट्टिएर छुट्टै समूह चलाइरहेका थिए ।

पटुवार समूह छाडेर चौधरीतिर लागेका थिए, त्यसबेला उनीहरु युनुससँग नजिक हुन थालेका थिए,’ एक अधिकृत आशंका गर्छन्, ‘उनीहरुलाई इल्ताफको समूहको कारोबारबारे सबै जानकारी भएकाले जोखिम महसुस गरेको हुनसक्छ ।’
मोहम्मदले बयानका क्रममा पनि त्यसको संकेत गरेका थिए । ‘प्रहरी लगाएर पक्राउ गराउन सक्ने खतरा भएपछि म, वाहिद खान, मुन्ना खान र असरफ समेत मिलेर हत्या गर्ने योजना बनाएका थियौं,’ मोहम्मदले भनेका छन् ।

स्रोतका अनुसार अन्सारी पहिलो पटक जेलमा परेपछि इलताफले नेपालमा छुट्टै नक्कली नोट कारोबारको गिरोह चलाएका थिए । त्यसबेला उनले उपेन्द्र चौधरी, साजित अन्सारी लगायतसँग मिलेर पाकिस्तानबाट हवाई मार्गमार्फत नेपालमा जाली नोट भित्र्याउने गरेका थिए ।

पक्राउ पर्नुअघि नै दुईबीच मनमुटाव सुरु भइसकेको थियो, पछि ललितपुर प्रहरीले २० कात्तिक २०६६ मा कुपण्डोलबाट ५४ लाख बढी नक्कली भारु बरामद भएपछि इल्ताफले छुट्टै समूह खडा गरिसकेको खुलेको थियो,’ एक अधिकृत भन्छन् ।

स्रोतका अनुसार त्यसबेलासम्म युनुस र इल्ताफ समूहबीच एकअर्काको सूचना प्रहरीलाई दिएर आफू बलियो हुने होड चलिरहेको थियो । युनुस जेलमा परेपनि इल्ताफ चाहिँ मुन्ना खान, अल्ताफ अन्सारी, सदरुल अन्सारी लगायत विभिन्न नाम प्रयोग गरेर जाली नोटको कारोबार गरिरहेका थिए ।

बारामा मठमन्दिर र विद्यालयलाई चन्दा समेत दिने गरेका उनी गाउँमा समाजसेवी र व्यवसायीको आवरणमा थिए । त्यसैले उनलाई पक्राउ गर्न गएका प्रहरी अधिकृतहरु पनि खाली हात फर्किने गर्थे ।

जाली नोट नेपाल भित्र्याएपछि भारतसम्म पुर्‍याएर व्यवस्थापन गर्ने जिम्मेवारी चाहिँ इल्ताफले त्यसबेला लाल मोहम्मदलाई दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !