२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

बन्धक बनाइएका उद्योगका सिईओसहित १३ जनालाई छुटाउन अश्रुग्यास प्रहार, ११ प्रहरी घाइते



बारा । दसैं बोनस नपाएको भन्दै त्रिवेणी धागो उद्योगका मजदुरहरूले उद्योगका व्यवस्थापकहरुलाई बन्धक बनाएका छन् । उद्योगका सिईओसहित १३ जनालाई बुधबार दिउँसोदेखि उनीहरुले बन्धक बनाएका हुन् । उनीहरुलाई तितरबितर गरी नियन्त्रणमा लिन प्रहरीले २६ सेल अश्रुग्यास प्रहार गरेको हो । त्यस क्रममा ११ जना प्रहरी घाइते हुन पुगेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिकास्थित वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा पर्ने धागो उद्योगमा कार्यरत मजदुरहरूले बुधबार दुई बजेदेखि उद्योगका सिईओ अशोक शर्मासहित व्यवस्थापनका १३ जनालाई घेरेर राखेका थिए ।

बुधबार प्रहरीले सम्झाईबुझाई गरेर उनीहरुलाई पठाएको थियो । तर उनीहरुले बिहीबार पनि उनीहरुलाई बन्धक बनाएपछि प्रहरीले अश्रुग्यास प्रहार गरी तितरबितर गर्नु परेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनीहरुले व्यवस्थापनका १३ जनालाई औषधि पानी समेत खान नदिई राखेको पाइएको बताए ।

अश्रुग्यासपछि घम्साघम्सी हुँदा ११ जना प्रहरी घाइते भएको उनले बताए । ९ सामान्य घाइतेलाई अल्पाइन अस्पताल र २ जना गम्भीर घाइते भएकालाई वीरगन्जको हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !