२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

कात्तिकभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी



काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

वर्षा सकिएकाले अस्थायी रुपमा पानी ल्याउन मुहानसम्म जाने सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष मुहान क्षेत्रको डाइभर्सन सुरुङ र अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरिएको थियो । त्यसैले सुरुङमा समस्या नभएको  मेलम्ची खानेपानी विकास समितिले अनुमान गरेको छ ।

‘सुरुङ सफा गर्न पर्दैन र हेडवर्कसम्म सडक पुगेमा चाँडै पानी ल्याउन सकिन्छ भन्ने लागेको छ’ प्रवक्ता पन्तले भने । गत वर्ष वर्षाले आयोजना, आयोजनासम्म पुग्ने सडक र पुलमा ठूलो क्षति पुर्‍याएको थियो । तुलनात्मक रुपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ । यद्यपि गत वर्षायामपछि सरकारी टोली मेलम्ची आयोजनाको मुहान क्षेत्रमा पुगेको छैन । त्यहाँ पुगेपछि संरचनाको अवस्था थाहा हुने प्रवक्ता पन्तले बताए । गत वर्ष नदीको तिरैतिर डोजरले सम्याएर सडक बनाइए पनि बाढीले त्यसलाई बगाएको छ । अब त्यसरी नै नदी नजिकैबाटै अस्थायीरुपमा भएपनि पहुँच सडक बनाइने छ ।

कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र पाँचपाँच वर्षमा मर्मत गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख छ । सोहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक रहेको पाइएकाले त्यसलाई सुरु गरिएको छ ।

आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ ।

काठमाडौं उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । विसं २०७७ असारमा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ ।

आयोजनाका जम्माजम्मी कामलाई हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । यसमध्ये हेडवर्क र सुरुङमार्गको निर्माण एउटै कम्पनी र प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरेका हुन् । सुरुङमार्ग र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेको छ । ‘हेडवर्क’ सम्पन्न नहुँदै बाढीले क्षति पुर्‍याएको थियो ।

सरकारले विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी निर्माणका काम सुरु गर्‍यो । दुई वर्ष कोभिडले निर्माणमा अवरोध पुग्यो भने वर्षाले बनिसकेका संरचनामा क्षति पुर्‍यायो ।


प्रतिक्रिया दिनुहोस !