२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

प्रधानमन्त्री बनाएकोमा प्रचण्ड-माधवलाई धन्यवाद दिँदै देउवाले भने- गठबन्धनमा कसैले समस्या नल्याऔं



पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै एक पार्टीको मात्र बहुमत आउन सक्ने अवस्था नरहेको भन्दै गठबन्धन आवश्यक रहेको बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै देउवाले सबै नेताका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

‘सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ । भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने आवश्यक छ । गठबन्धन आवश्यक छ । आज शेरबहादुर छ भने भोलि प्रचण्ड, माधव नेपाल, रामचन्द्र हुनुहोला । सबैका लागि यो महत्वपूर्ण उपलब्धि हो । अहिलेको चुनाव धेरै महत्व बोकेको चुनाव हो । समावेशी लोकतन्त्रलाई अघि बढाउँदै देश सच्चा मानेमा राष्ट्रिय एकता कायम गर्नेछ’, देउवाले भने ।

उनले विगतका कुरा सम्झिएर काम नभएको भन्दै राजनीतिमा कुनै पनि ठाउामा समझदारी गर्नुपर्ने हुन सक्ने औंल्याए ।

‘हिजोका कुरा ल्याएर केही काम छैन । राजनीतिमा हिजो-आजका कुरै छैन । हिजोका कुराको काम छैन, सम्झनुपर्ने केही छैन । गठबन्धनमा कुनै हालत र बहानामा शंका नहुने अवस्था छ । गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु हुँदैन’, देउवाले भने, ‘राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएका हुन्छन् । हिजोका लडाइँका कारण होलान्, ती बितेका कुरा भए । राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने, बिसाउनुपर्ने हुन सक्छ । अहिलेको प्राप्ति सबैको जित हो ।’

केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूको सम्बन्धजत्तिकै तलसम्म बनाउन कार्यकर्तालाई देउवाले निर्देशन दिए ।हामी माथि माधवजी, प्रचण्डसँग कति राम्रो सम्बन्ध छ, तल पनि हुनुपर्‍यो । आपसमा सम्बन्ध बढाउने काममा लाग्नुपर्छ ।’टिकट नपाएकोमा कोही रिसाएको भए मिलाइने उनले बताए ।

‘उहाँहरू (माधव नेपाल, प्रचण्ड) लाई धन्यवाद दिन चाहन्छु, कांग्रेसको सभापतिलाई प्रधानमन्त्री बनाउने भन्नुभयो । म व्यक्तिलाई प्रधानमन्त्री बनाएको होइन । भोलिका सन्ततिले मूल्यांकन गर्नेछन्, त्यसबेला पनि यस्तो राम्रो व्यवस्था ल्याएको भनेर ।’


प्रतिक्रिया दिनुहोस !