१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चुनाव जितेपछि एमाले कार्यकर्ताले माओवादीका नेताको घरमा ढुंगामुढा बर्साएपछि बबाल



सिरहा । सिरहा निर्वाचन क्षेत्र नं ३ मा निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहितको विजय र्‍यालीमा सहभागी एमाले कार्यकर्ताहरूले शुक्रबार साँझ निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विश्वनाथ साहका दाजुको घरमा ढुंगामुढा गरेपछि त्यसको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनको क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड सडक अवरुद्ध पारिएको छ । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन पूर्वतर्फ कसहा र पश्चिमतर्फ चोहर्वामा रोकिएका छन् । विरोधमा संलग्नहरूले बजार, पसल बन्द गराएका छन् ।

गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको गोलबजार नगरपालिका–४ स्थित घरमा ढुंगामुढा र एक जनालाई कुटपिट गरेको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले शनिबार बिहानदेखि गोलबजार बन्द गरी सडक अवरुद्ध पारेका हुन् । देवनाथ पराजित उम्मेदवार विश्वनाथका दाजु हुन् ।

एमाले कार्यकर्ताहरुले ढुंगामुढा गर्दै झ्यालको सीसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरेको पनि स्थानीयहरूले बताए । टाउकोमा चोट लागेका साहको गोलबजारस्थित लाइफ लङ अस्पतालमा उपचार भइरहेको छ । घाइते साहको टाउकोमा चारवटा टाँका लगाइएको र उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

एमालेका श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालेपछि उन्मादमा एमाले कार्यकर्ताहरुले ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले आरोप लगाएको छ ।

शनिबार भएको प्रदर्शन रोक्नका लागि भने सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पहल भइरहेको बताए । साथै सडक खुलाउने विषयमा वार्ता भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !