१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नगर प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध महानगरपालिकाको उजुरी



काठमाडौँ । काठमाडौं महानगपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा महानगर प्रहरीमाथि भएको आक्रमणमा संलग्नहरुमाथि कानुन अनुसार कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सोमबार साँझ विज्ञप्ति जारी गर्दै सो घटनाको नेतृत्वकर्ता र त्यसमा संलग्नहरुमाथि उजुरी गरेको भन्दै कारबाहीका लागि माग गरेका हुन् ।

सो घटना घटाउन नेतृत्व गर्ने तथा आपराधिक कार्यमा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा अपराध अनुसन्धानका लागि महानगरपालिकाबाट पत्र प्रेषित गरिएको छ,’ मानन्धनले भनेका छन् ।

महानगरपालिकाका अनुसार अनधिकृत संरचना हटाउने कानुन बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरुलाई सांघातिक आक्रमण गर्ने व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुन सम्बद्ध निकाय तथा पदाधिकारीहरुलाई अनुरोध गरिएको छ । महानगरपालिकाले अधिकार सम्पन्न वाग्मती सभ्याता एकीकृत विकास समितिको अनुरोधपछि महानगर प्रहरी बलका प्रमुखको नेतृत्वमा टोली थापाथली पुगेको जनाएको छ ।

‘सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले खुँडा जस्ता धारिलो हतियार, ढुंगामुढासहितका सामग्रीसहित उपस्थित भई आपराधिक मनसायले एक्कासी महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएका छन्,’ महानगरपालिकाले भनेको छ । महानगरपालिकाले आक्रमणमा परि घाइते भएकी नगरप्रहरी शर्मिला बोगटीसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !