१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

अरुण चौधरीसँगै धनगढी पुगेकी रञ्जिताले भनिन्- निर्वाचित सांसदको पक्राउ सुनियोजित



कैलाली । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई सुनियोजितरूपमा पक्राउ गरिएको आरोप लगाएकी छन् । पक्राउ परेका सांसद चौधरीसँगै काठमाडौंबाट धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएकी हुन् ।

‘उहाँलाई सुनियोजित ढंगले पक्राउ गरिएको छ’ उनले भनिन्, ‘९ वर्षदेखि फरार भनिएको छ । यो बीचमा उहाँले अन्य पार्टीबाट मेयर र प्रदेशसभाको निर्वाचन पनि लडिसक्नु भएको छ त्यो बेला फरार नहुने अहिले नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएर माननीय भइसकेपछि फरार भन्ने हुन्छ रु’

निर्वाचित सांसदलाई फरारसूचीमा राखेर पक्राउ गर्नुले सरकारका विषयमा सोच्न बाध्य बनाएको पनि उनले बताइन् ।

बाँकेमा प्रहरीले चौधरीलाई पक्राउ गरेलगत्तै उनले सांसद चौधरी सम्पर्कविहीन रहेको सामाजिक सञ्जालमा लेखेकी थिइन् । बाँकेबाट काठमाडौं जहाजमा लगेर चौधरीलाई धनगढी ल्याउने क्रममा रञ्जिता पनि सँगै आएकी हुन् ।

‘उहाँलाई फसाइएको हो भन्ने कुरा प्रस्ट छ’ उनले भनिन् ‘रिहा नहुँदासम्म म उहाँसँगै हुन्छु ।’

जिल्ला प्रहरी कार्यालयमा पनि श्रेष्ठ चौधरीसँगै पुगेकी थिइन् । भोलि जिल्ला अदालतमा पनि सँगै जाने उनले बताइन् ।

२०६६ भदौ ३ गते लु। २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा भन्दै कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई २०७० वैशाख ९ गते छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

फैसला हुनुअघि नै सरकारले यी लगायतका घटनाको मुद्दा फिर्ता लिने सहमति गरिसकेको थियो । सरकारले मुद्दा फिर्ता लिइसकेको घटनालाई लिएर निर्वाचित सांसद पक्राउ परेको भन्दै नागरिक उन्मुक्तिले आन्दोलनको चेतावनीसमेत दिएको छ ।

सांसद चौधरीलाई २४ घण्टा भित्र रिहा नगरे सशक्त आन्दोलन गर्ने नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति मार्फत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !