२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनमा प्रमुख विपक्षी दल कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन् । राष्ट्रिय सहमतिको आवश्यकता रहेकाले प्रमुख विपक्षीलाई समेत सम्बोधन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर सत्तारुढ गठबन्धनका दल एमाले र माओवादी केन्द्रबीच अविश्वास बढिरहेका बेला माओवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले कांग्रेसलाई समेत जोड्नुपर्ने बताएका हुन् । बालुवाटारमा बिहीबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा कुरा भएको थियो । बिहीबारै सुर्खेत पुगेका उपप्रधानमन्त्री श्रेष्ठले भने सरकारलाई प्राप्त राष्ट्रिय सहमतिको अवस्थालाई निरन्तरता दिनुपर्ने उल्लेख गरेका हुन् ।

‘हाम्रै नेतृत्वमा राष्ट्रिय सहमति कायम भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो । त्यसो हुँदा प्रमुख प्रतिपक्षलाई समेत विश्वासमा लिएर उहाँहरुलाई पनि सम्बोधन गर्नेगरी राष्ट्रिय सहमतिको वातावरणलाई अझ सुदृण गर्ने गरी अगाडि बढ्नु राष्ट्रपति चयनका सन्दर्भमा पनि सान्दर्भिक हुन्छ भन्ने हाम्रो धारणा हो । त्योभन्दा बढी हामीले केही भनेका पनि छैनौं र हाम्रो चाहना पनि छैन,’ उपप्रधानमन्त्री श्रेष्ठले पत्रकारहरूसँग भने ।

उनले कसैले भत्काउन चाहेर मात्रै गठबन्धन नभत्किने तर सत्तारुढ दलका आपसी व्यवहारमा पनि त्यो भरपर्ने उल्लेख गरे । ‘गठबनधन, अहिले जसले सरकार चलाइरहेका छन् । उनीहरुले नै सही दृष्टिकोणले सही नीति अनुसार विश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्छ,’ उनले भने । सत्तागठबन्धनबीच सुदृण सम्बन्ध हुनका लागि प्रतिगमनलाई कुनै पनि हालतमा अघि बढ्न नदिने राष्ट्रियताको रक्षा, सुरक्षा र बाँकी सुशासनका काममा सबैको उत्तिकै प्रतिबद्धता हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !