२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

अस्वस्थ प्रतिस्पर्धाले आफै डुब्न थालेपछि इन्टरनेट सेवा प्रदायक एकजुट, छुटमा कटौती गर्न सहमत



काठमाडौं । ग्राहक बढाउनका लागि अत्यधिक छुटमा इन्टरनेट सेवा उपलब्ध गराउने दौडमा लागेका सेवा प्रदायकहरु अब भने छुट कटौती गर्नेतिर लागेका छन् । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरु बीच भएको अस्वस्थ प्रतिस्पर्धाले कम्पनी आफै डुब्न थालेको भन्दै सबै सेवा प्रदायक मिलेर मूल्य परिमार्जनतिर लागेका हुन् ।

त्यसका लागि इन्टरनेट सेवा प्रदायकहरुले नेपाल दूरसञ्चार प्राधिकरणलाई नयाँ मूल्यसूची पठाएका छन् । एनटीएले स्वीकृत गरेमा उक्त नयाँ मूल्य कायम हुनेछ । इन्टरनेट सेवा प्रदायक संघहरुको संगठन आईस्पानका वरिष्ठ सल्लाहकार बिनय बोहराले बजारको अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि सेवाप्रदायकहरुबीच छलफल भएको बताए ।

अहिले एकदमै सस्तोमा इन्टरनेट दिने प्रतिस्पर्धा चलिरहेको छ । एउटै घरमा चारवटा राउटर । यो पनि फ्री, त्यो पनि फ्री । यस्तो प्राइस वारमा आफू बाँच्नु त पर्यो । कस्टुमर त जोगाउनु पर्यो भनेर सबजना लाग्या छन् । सस्तो इन्टरनेट दिन खोज्दा त्यसको असर विभिन्न क्षेत्रमा पर्न थालेको बोहराको भनाइ छ ।

उनी भन्छन्, “भोलि बैंकको ऋण तिर्नुछ, तलब खुवाउनुछ । भेण्डरलाई पैसा तिर्नुछ । यही राउटर, तार किनेकै पैसा तिर्नुछ । तार मिलाउनुछ । विद्युत् प्राधिकरणको पैसा तिर्नुछ, यो सबै कुराहरु छ । मूल्य चाहिँ घट्या घट्यै गर्नुपर्नेछ ।

कस्टुमरले तिरिरहेकै पैंसामा पनि आधा छुट दिँदा कम्पनीमा दीर्घकालीन असर परेको उनी बताउँछन् । भन्छन्, “कस्टुमरले तिर्दिनँ भनेको छैन । हजार रुपैयाँ सबैले तिररहेकै थिए, ४०० मा म दिन्छु, ५०० मा म दिन्छु भन्नेतिर लागे । यसले गर्दा यसको दीर्घकालीन असर कम्पनीहरुमा पर्न थालेको देखियो ।”

अहिले आईएसपीहरुबीच आफैले आफैँलाई मार्न खोजेको हो कि भनेर कुरा हुन थालेको उनले बताए । भने, “लौन, यसरी के गर्न खोजेको आफ–आफै मर्न खोजेको हो कि रु कुन चाहिँ किराले आफूले आफैलाई टोकेर मार्छ रे, त्यस्तै गर्न खोजेको हो कि के हो रु भन्ने कुरा भएको हो । कुरा भएकै हो ।”

यसो भनिरहँदा आईएसपीहरुले निकै धेरै मूल्य बढाउन भने नखोजेको उनको भनाइ छ । “तर, हैन भोलि हामी सबैले प्राइस बढाउँ, हजारको दुई हजार गरौँ, यो गरौँ, त्यो गरौँ भनेर, त्यसरी गर्न खोजेको हैन । त्यो गर्न हुँदैन,” आईस्पानका कार्यकारी सदस्यसमेत रहेका बोहराले भने ।

“कार्टेलिङ पो हो कि भन्ने परेको रहेछ । सस्तो–सुलभमा अझै पनि दिउँ, पाँच हजार पर्ने राउटर एक वर्षका लागि अझै पनि सस्तोमा दिउँ, सित्तैमा दिनुपर्छ भन्ने छैन,” उनले भने, “एक हजार रुपैयाँ लिन सक्दैन भने ९०० लिउँ, ८०० लिउँ, वार्षिक शुल्क लिनेलाई १७, २० प्रतिशत डिस्काउन्ट दिउँ । तर, मर्ने प्राइस चाहिँ नराख्ने, यस्तो अस्वस्थ प्रतिस्पर्धा नगर्ने भन्ने कुराले ठाउँ पाएको हो ।”

तर, अहिले आईएसपी र एनटीएबीच कुराकानी नमिलेको उनको भनाइ छ ।

८०० मा बिक्री भइरहेको इन्टरनेट प्याकेज अर्कोले ४०० मा दिँदा अर्को सेवा प्रदायकले पनि ४०० मा दिनुपर्ने स्थिति आएको र यसले समग्र उद्योगमाथि भने दीर्घकालीन समस्या पारेको उनको भनाइ छ । यसको सट्टा बरु डुब्न लागेका कम्पनीहरुलाई मर्जर, एक्युजिसन, अक्वायर गर्नेतिर जानुपर्ने उनको भनाइ छ ।

एउटै किसिमको सेवा दिने कम्पनीहरुको संस्थाले एकतर्फीरुपमा मूल्य बढाउँदा कार्टेलिङ भयो भन्ने पो हुन्छ कि भन्ने प्रश्नको जवाफमा आफूहरुले नडुब्ने मूल्य तय गरौं भनेको र बजार नियन्त्रण गर्न नखोजेको उनको भनाइ छ ।

“नर्मल प्राइसमा बेचौँ आफू नडुब्ने प्राइसमा बेचौँ । अहिले कर्मचारीको तलब बढाउन सकिएको छैन, भेन्डरबाट भागाभाग गरेर हिँड्नु परिरहेको छ । त्यस्तो अवस्था आउनुले एउटा स्वस्थ उद्योगको पहिचान दिएन ।

प्राइस फिक्स गर्ने, सप्लाई पनि कन्ट्रोल गर्ने, जनताले तिर्न सक्नेभन्दा माथिको मूल्य तिराउने कार्टेलिंग हुन जाने भन्दै अहिलेको महँगाइ र मन्दीमा मूल्य बढाउन नहुने आफूहरुले बुझेको उनले बताए । एनटीएलाई चार महिनायतादेखि नयाँ मूल्यको स्वीकृतिका लागि पत्र पठाए पनि अहिलेसम्म स्वीकृत नभएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !