६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

प्रधानमन्त्रीको भारत भ्रमणले उर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : कुलमान घिसिङ



Kulman Ghising, Nepal Electricity Authority

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता ले उर्जा व्यापारमा ‘ब्रेक थ्रु’ गरेको कुलमान घिसिङले बताएका छन् । नेपाली भ्रमण टोलीमा रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सम्झौताले अब नेपाललाई बंलादेशसम्म विद्युत् बेच्ने बाटो खुला भएकोसमेत बताए । उनी भन्छन्, नेपाल–भारत प्रधानमन्त्रीस्तरमा मुख्य ‘ब्रेक थ्रु’ ऊर्जा व्यापारको क्षेत्रमा भयो । नेपाल र भारतबीचमा विद्युत् व्यापार सम्बन्धी दीर्घकालीन प्रारम्भिक सम्झौता भएको छ । यो त विद्युत् व्यापारको एउटा छाता सम्झौता हो । यसमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्ने विषय समेटिएको छ । लामो समयदेखि भारतले जलविद्युत् किन्दैन कि भन्ने शंका थियो, अब त्यो तोडियो ।

सामान्यतया दीर्घकालीन सम्झौता २५ वर्षको हुन्छ, तर त्यसलाई लम्ब्याउँदै जाने सम्झौतामा उल्लेख छ । यसकै आधारमा हामी ५, १० र १५ वर्षको ‘सर्ट टर्म विद्युत् खरिद सम्झौता’ (पीपीए) हरू गर्न सक्छौं । यसले भारत जस्तो जलविद्युतको ठूलो बजार नेपालका लागि खुला भएको छ । ट्रान्समिसन कनेक्टिभिटी बढाउने गरी न्यू बुटवल–गोरखपुर ४०० केभीको अन्तरदेशीय लाइनको शिलान्यास नै भयो । त्यसैगरी लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारणलाइनबारे छलफल भएर सचिवस्तरमा टुंगो लागिसकेको छ ।

समग्रमा यो भ्रमणले विद्युत् व्यापारमा नेपालमा उत्पादन भएको सबै बिजुलीको बजार सुनिश्चित गर्न सकिने वातावरण बनाएको छ । वान अन वान’ बैठकमा तेस्रो देशका ठेकेदारको संलग्नताको सवालका कारण नेपालको माथिल्लो तामाकोशी लगायत परियोजनाको विद्युत्ले निर्यात अनुमति नपाएको विषय पनि प्रधानमन्त्रीज्यूले उठाउनुभएको छ । यसका कारण पनि बनिसकेको हाम्रा परियोजनाको बिजुली निर्यातका लागि थप ‘ब्रेक थ्रु’ हुने अवस्था बनेको छ । अहिलेलाई बंगलादेशमा ४० देखि ५० मेगावाटसम्म बिजुली निर्यात गर्न नेपाल–भारत सहमत भएका छौं । प्रसारणलाइनको क्षमता बढ्दै गएपछि त्यो परिमाण थप्दै जाने विषयमा एउटा समझदारी बनेको छ । त्यो एउटा ठूलो ब्रेक–थ्रु हो । नेपालको बिजुली भारत हुँदै बंगलादेश जाने कुरा बीबीआईएन सहित क्षेत्रीय विद्युत् व्यापारका लागि ठूलो ‘ब्रेक थ्रु’ हो । यसबारे नेपाल र बंगलादेश तथा बंगलादेश र भारतबीच सहमति भइसकेको छ, अब तीनवटै पक्षले रायहरू दिएर विद्युत् व्यापारको ‘रेट’हरू फाइनल गर्न बाँकी छ । अब त्यो काम हुन्छ । केही प्राविधिक कुरा टुंग्याएर छिट्टै बंगलादेशमा हामी बिजुली निर्यात गर्छौं ।


प्रतिक्रिया दिनुहोस !