७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

सादा पोसाकमा आएका भारतीय प्रहरीद्वारा महेन्द्रनगरका युवक पक्राउ



काठमाडौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का एक जना नेपालीविरुद्ध भारतीय प्रहरीले मुद्दा चलाएको छ।पाँच किलोग्राम चरेश फेला परेको आरोपमा भारतीय प्रहरीले ३२ वर्षीय दिनेश रावतलाई पक्राउ गरी सीमावर्ती टनकपुर प्रहरी चौकीमा मुद्दा चलाएको हो।

रावतलाई केहीदिन अघि सादा पोसाकमा नेपाल पसेका भारतीय प्रहरीले नियन्त्रणमा लिएका थिए। उनीसँगै रहेका अर्का व्यक्ति २७ वर्षीय ईश्वर पन्त भने भागेका थिए। त्यसपछि घटना सार्वजनिक भएको थियो।सादा पोसाकका भारतीय प्रहरीले धोकाधडी गरेर फसाएको नेपालीहरुको आरोप छ।

भारतीय प्रहरीको नियन्त्रणमा रहेका दिनेशको भीमदत्त नगरपालिका–९ स्थित खेलकुद मैदान नजिकै आफ्नै घरमा खुद्रा सामग्री र चिया नास्ताको पसल छ।

नेपाल–भारत दशगजाभन्दा करिब एक सय मिटर नेपालतर्फ रहेको उनको पसलमा एक साताअघिदेखि दुई जना भारतीय दिनहुँ आइरहन्थे।उनीहरुले त्यहाँ मदिरा पिउँथे। चरेश पनि खोज्ने गरेका थिए। गत बुधबार पनि करिब दुई बजे ती भारतीयहरु दिनेशको पसलमा आएका थिए। पसलमा दिनेशसँगै ईश्वर पनि थिए।

भागेर आएका ईश्वरका अनुसार ती भारतीयले आफूहरुले रक्सी ल्याएको भन्दै दिनेशलाई मासु पकाउन भने।मासु पाकेपछि भारतीयहरुले ईश्वर र दिनेशलाई नजिकै जंगलमा बसेर रक्सी मासु खाने प्रस्ताव गरे।

एक सातादेखिको निरन्तर भेटघाटले भारतीयसँग नजिकिएका थिए, उनीहरु। भारतीयले भने बमोजिम ईश्वर र दिनेश दशगजा क्षेत्र अन्तर्गत पर्ने जंगलमा जान राजी भए। त्यहाँ पुगेपछि एकजना भारतीयले आफूले बोकिरहेको झोला उनीहरुलाई समात्न दिएका थिए। त्यस लगत्तै झाडीबाट १०–१२ जना भारतीय प्रहरी आएर उनीहरुलाई नियन्त्रणमा लिएका थिए। ईश्वर भने त्यो क्रममा भाग्न सफल भएका थिए।

उनले हल्ला गरेपछि नेपालीहरु हुलसहित दशगजा क्षेत्रमा गएका बेला भारतीयले पेस्तोल देखाएका थिए।दिनेशमाथि भारतको टनकपुर, खटिमा, बनबासालगायत क्षेत्रमा नेपालबाट चरेश सप्लाइ गर्ने गरेको भारतीय प्रहरीले आरोप लगाएको छ।नशामुक्त बनाउने अभियान अन्तर्गत यसअघि समातिएकाहरुले बयानमा दिनेशको नाम किटेपछि निरन्तर निगरानीमा राखेर नियन्त्रणमा लिइएको भारतीय प्रहरीको दाबी छ।


प्रतिक्रिया दिनुहोस !