६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

‘बंगलादेश मोडल’बारे भारत भ्रमणमा कुरा भएको छ, निष्कर्ष होइन : प्रधानमन्त्री



काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ४ दिने औपचारिक भारत भ्रमणका क्रममा ‘बंगलादेश मोडल’को बारेमा पनि छलफल भएको स्पष्ट पारेका छन्। शनिबार साँझ नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन्। साथै, उक्त विकल्पबारे छलफल भएको भएपनि अहिलेनै सोही निष्कर्ष भने नभएको उनले बताए।

उनले कालापानी, लिपुलेक लगायतका भूभागको विकल्पमा बंगलादेश जाने बाटोबारे छलफल भएको बताए।

‘यो कुरा पक्कै पनि भयो। विभिन्न विकल्पहरुको बारेमा किन नसोच्ने भन्ने कुरा भएको छ। प्रधानमन्त्री मोदीसँग मात्र होइन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘टिम नै बसेको बेलामा पनि बंगलादेश मोडलको कुरा, बंगलादेशको लामो समयदेखिको समस्या समाधान गर्न भारत बंगलादेशको लामो समयदेखिको समस्या समाधान गर्न भारत बंगलादेशले जुन सफलता हासिल गरे त्यो हाम्रा लागि पनि हुनसक्छ भन्ने भयो।’

भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र छाडेर पूर्वी नाकाबाट सिधा बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेकोबारे उनले गत शुक्रबार नेपालका सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पनि बताएका थिए।

‘हामीलाई बंगलादेश जाने बाटो दिने कुरा पनि एउटा विकल्प। नेपाली विज्ञहरुको पनि लगातारको भनाइ त्यही छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रचण्डले नेपाली विज्ञहरुले यदि भारतले कालापानी क्षेत्र छाड्न नसक्ने हो भने नेपाललाई पूर्वी सीमाबाट सिधा बंगलादेश पुग्ने बाटोबारे पनि चर्चा गरेको परिप्रेक्षमा त्यो विकल्पबारे पनि सोच्न सकिने बताएका हुन्।‘त्यो हाम्रो भूमि नै हो, हाम्रो भूमी सर्लक्कै फिर्ता गरेको राम्रो। केही संवेदनशिलता हो भने अरु विकल्प पनि हुनसक्छन भन्ने बारेमा छलफल भएका कारण मोदीजी उत्साहित भएर सीमानाको समस्या पनि हल गर्ने भनेर मैलेभन्दा पहिला बोल्नुभएको हो,’ प्रधानमन्त्री प्रचण्डले भने।

गत १७ जेठमा प्रतिनिधिमण्डलको टोलीसहित भारत गएका प्रधानमन्त्री प्रचण्ड ४ दिनपछि शनिबार साँझ नेपाल आइपुगेका हुन्।उनलाई विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायतले स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !