७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

प्रदेशबाट बजेट हाल्ने भन्दै गाउँघरबाट कमिसन खाएर धनगढी झरे बिचौलियाहरू



धनगढी । प्रदेश सरकारबाट विभिन्न योजना हाल्ने भन्दै गाउँघरबाट कमिसन खाएर बिचौलियाहरू धनगढी झरेका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेका बेला विभिन्न जिल्लाका बिचौलिया धनगढी केन्द्रित भएका हुन्। ती बिचौलियाहरूले धनगढीमा कर्मचारी, मन्त्री र नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन्।

प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउने गर्छ। प्रदेश सरकारबाट बजेट हत्याउन विभिन्न राजनीतिक दलका स्थानीय नेता र कार्यकर्ता, पूर्व कर्मचारी र केही खेलाडीहरूले प्रदेशका विभिन्न जिल्लाबाट अग्रिम कमिसन खल्तीमा हालेर योजना हात पार्न लबिङ र सेटिङ मिलाउदैछन्। धनगढीमा बिचौलियाको बिगबिगी देखिएपछि भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बिचौलियाहरूलाई पक्राउ गर्न आग्रह गरेका छन्।

प्रदेश सरकारले पालिका र प्रदेश सभा सदस्यहरूले सिफारिस गरेका योजनालाई प्राथमिकता दिने दाबी गर्दै आएको छ। आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले नयाँ कार्यक्रमभन्दा पनि पुरानै योजनामा बढी बजेट हाल्नुपर्ने बताएका छन्। उनले क्रमागत योजनाहरूले पहिलो प्राथमिकता पाउने बताए्। बजेटको आकार घटेकाले नयाँ योजना ल्याउने सम्भावना निकै कम रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !