६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

आज काठमाडौंको तापक्रम ३३ र तराईमा ४१ डिग्री सेल्सियससम्म पुग्ने



काठमाडौं । तराईका केही भू–भागमा आज पनि तातो हावा (लू) चल्ने भएको छ । विगत केही दिनको जस्तै आज पनि देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने भएको छ । केही दिनयता काठमाडौंसहित देशका विभिन्न भागमा गर्मी बढेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविद् गोविन्द झा बताउँछन् । पश्चिमी वायु कमजोर रहेका कारण तापक्रम बढेको र बदली समेत हुन नसक्दा गर्मी बढेको उनको भनाइ छ ।

“काठमाडौंमा आज ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । र, यो क्रम अझै केही दिन रहनेछ,” मौसमविद् झाले भने । जनकपुर, भैरहवा, सिमरा, नेपालगन्जलगायत क्षेत्रमा पनि आज तापक्रम उच्च रहनेछ । मौसमविद् झाका अनुसार यी क्षेत्रमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । तापक्रम कतिपत्रय ठाउँमा बढ्नेक्रममा रहेको र कतिपय ठाउँमा स्थिर रहेको उनले जानकारी दिए । उनका अनुसार अझै कम्तीमा तीन दिनसम्म तापक्रम घट्ने सम्भावना न्यून छ । त्यसैले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । तर, पश्चिमी वायुको कमजोर रहेको छ । जसका कारण गर्मी बढेको छ । यसअघिका वर्षमा पनि जुन महिनामा गर्मी हुन्थ्यो । तर, यो वर्ष पश्चिमी वायु कमजोर रहेका कारण थप गर्मी भएको हो,” उनी भन्छन्, “पश्चिमी वायु शक्तिशाली नहुँदा यो वर्ष ३ देखि ५ डिग्री तापक्रम बढेको हो ।”

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस !