७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ सोमबार प्रतिनिधि सभाको बैठकमा भारत भ्रमणमा भएका कुराकानीबारे प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भारतसँगको सीमा विवाद समाधान गर्न बंगलादेश मोडल अपनाउन सकिनेबारे कुरा गरेको भन्दै जवाफ मागेको छ। भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाललाई बंगलादेशसम्म पुग्ने बाटोको सट्टामा लिपुलेक–लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पमा कुरा भएको उल्लेख गरेका थिए।

यस विषय कुरामात्रै भएको तर कुनै निष्कर्ष ननिस्किएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। उक्त अभिव्यक्तिलाई लिएर एमालेले आइतबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर जवाफ मागेपछि प्रधानमन्त्री प्रचण्डले आज स्पष्ट पार्न लागेको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए। सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले पनि अग्रसरता लिएका छन्। प्रमुख प्रतिपक्षी दल एमाले लगायतका दलले सदन अवरूद्ध गरेपछि सदनबाटै प्रधानमन्त्री र सभामुखबीच कुराकानी भएको घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए। सभामुखसँगको टेलिफोन सम्वादमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग पनि कुराकानी गर्ने बताएकाले आजको अवरोध हट्ने सम्भावना रहेको अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !