७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

नागरिकता विधेयक विवाद स् सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध



जनकपुरधाम । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा धनुषाको महेन्द्रनगरका स्थानीय राजमार्ग अवरुद्ध गरेका छन् । सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ नेपालीको भविष्यसँग खेलवाड गरेको भन्दै महेन्द्रनगरबासी आन्दोलन सुरु गरेका हुन् । उनीहरू पूर्व पश्चिम राजमार्गमा टायर बालेर सवारी साधन समेत ठप्प पारेका छन् ।

प्रदर्शनमा सहभागीहरूले नेपाली नागरिकलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता वितरण गर जस्ता नारा लगाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच दिन अगाडी विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । आइतबारबाट जिल्ला प्रशासन कार्यालयहरूले प्रमाणीकरण भएको विधेयकको आधारमा नागरिकता वितरण गर्ने सूचना समेत जारी गरेको थियो । तर आइतबार नै सर्वोच्च अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश दियो । उक्त आदेशपछि नागरिकता वितरण रोकिएको छ । यस्तै जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पनि विद्यार्थी जनमत संघ र नागरिकता विहीनहरू प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !