१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

कोसीमा सरकार र पहिचान पक्षधरबीच वार्ता



विराटनगर । कोसी प्रदेश सरकार र पहिचान पक्षधरबीच सोमबार भएको पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच हुने वार्ताको अर्को मिति आपसी सहमतिमा तय गरिने भएको छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटलमा बिहान लगभग ९ बजेतिर वार्ता सुरु भएको थियो । वार्तामा ४ घण्टाजति घनिभूत छलफल भएको जनाइएको छ । दिउँसो १ बजेतिर पहिलो चरणको वार्ता सम्पन्न भएको दुवै पक्षले जनाएका छन् ।

प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित छन् । कोसी नाम खारेजी र बहुपहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै निरन्तर आन्दोलन हुन थालेपछि सरकारले वार्ताको आह्वान गरेको थियो । प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि आन्दोलनरत पहिचानवादीसँग सरकारले पहिलोपटक औपचारिक वार्ता गरेको हो ।

वार्तामा पहिचान पक्षधरको आन्दोलन, उनीहरूले राखेका माग, सरकारले गर्नसक्ने सम्बोधनलगायतका विषयमा छलफल भएको जनाइएको छ । वार्तामा सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रदेशका सिँचाई खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो तथा सदस्यहरु उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी भएका थिए । आन्दोलनकारीका तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, ग्याल्जे शेर्पा, कुमार लिङ्देन ‘मिराक’, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जबेगू सहभागी भए । सरकारले औपचारिक आह्वान गरेपछि त्यसलाई स्वीकार गर्दै पहिचान पक्षधरका तर्फबाट पनि आइतबार वार्ता समिति बनाइएको थियो ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति घोषणा गरेर पहिचान पक्षधर आन्दोलित छन् । विराटनगर केन्द्रित आन्दोलन गरिरहेका उनीहरुले राजनीतिक दलका शीर्ष नेता तथा कोसीको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा रोक लगाउने गरिरहेका छन् ।

पहिचान पक्षधर वार्ता टोली सदस्य रामभक्त कुरुङबाङले फेरि बस्ने सहमति गरेर पहिलो चरणको वार्ता सम्पन्न गरिएको जानकारी दिए । उनले सरकारसँग वार्ता प्रारम्भ भएको र छलफल सकारात्मक दिशामा अघि बढेको बताए । वार्तामार्फत नै समस्याको समाधान गरेर अघि बढ्ने निस्कर्ष निकालिएको कुरुङबाङको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !