६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

हालसम्मकै ठूलो परिमाणमा लागूऔषध एलएसडी बरामद, गिरोह पक्राउ



सांकेतिक फोटो ।

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) आगुऔषध बरामद गरेको छ । ब्युरोले १० हजार १३० पिस अवैध एलएसडी बरामद गरेको हो । यो नेपालमा हालसम्मकै ठूलो परिमाणमा बरामद गरिएको लागूऔषध एलएसडी लागुऔषध हो । बरामद गरिएको उक्त एलएसडीको हालको बजार मूल्य करिब दुई करोड रुपैयाँभन्दा बढी पर्ने प्रहरीको भनाइ छ ।

ठमेलबाट बरामद गरिएको लागुऔषध सँगै त्यसको कारोबार र ओसारपसारमा संलग्न ५ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । एनसीबीले चलाएको विशेष अपरेशनका क्रममा उनीहरु पक्राउ परेका हुन् । आज प्रहरीले पक्राउ परेका व्यक्ति र बरामद लागुऔषध सार्वजनिक गरेको छ । यही असार ५ गते सुगम मैनालीलाई ७ पिस एलएसडीसहित ठमेलबाट पक्राउ परेका थिए । उनलाई थप केरकार गरेर खोजी गर्दा कारोबारीको जालो खुल्दै गएको हो । यस क्रममा ठमेलबाटै मुखिया गुरुङ र पोखराबाट चेक रिपब्लिकका नागरिक मार्टिन सेरना तथा नेपाली नागरिक वचन भन्ने राज गौतम पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा ब्युरोले यस गिरोहका मुख्य नाइकेसहित थप ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गिरोहका मुख्य नाइके इटालीका डेबिड मण्डियो सहित भारतीय नागरिक हेमन्तकुमार शर्मा, राम भजन भन्ने सञ्जिवकुमार, जर्मनी पाउल रेष्ट तथा चितवनका महेश चौधरी र काठमाडौँका सुगम मैनाली लगायत रहेका छन् । स्टिकरको रुपमा प्रयोग गरिने यो लागुऔधले मान्छेलाई भ्रमित तुल्याउने र आत्महत्या गर्न उक्साउने खालको रहेको प्रहरीको भनाइ छ । प्रहरीले चरेस र गाजाको धुलोका डल्लासहित थप केही व्यक्तिलाई पनि पक्राउ गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !