
काठमाडौं । एमालेको गण्डकी प्रदेशको अधिबेशनमा पार्टीका महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङको बीचमा टक्कर हुने भएको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेलसँग नजिक रहेका गुरुङको बागमती प्रदेशमा टक्कर हुने भएको छ । महासचिव पोखरेल र उपाध्यक्ष पौडेलका आ–आफ्नै गुटको बीचमा बेलाबेलामा प्रतिस्पर्धा सतहमै आउने गर्छ । हाल भइरहेका प्रदेश अधिवेशनको क्रममा गृह प्रदेश लुम्बिनी र कर्णालीमा पोखरेल गुटभन्दा इतर पक्षका नेता अध्यक्षमा चुनिएका छन्।
बागमतीमा बडो मुस्किलले आफूपक्षीय अध्यक्ष पाएका पोखरेलको ध्यान यतिबेला गण्डकीमा देखिएको छ। उनी गण्डकी प्रदेशमा आफूअनुकूलको नेतृत्व मात्र चाहँदैनन्, यही चुनावमार्फत् उपमहासचिव गुरुङमाथि हाबी हुन चाहन्छन्। त्यसका लागि उनी केही दिनदेखि पोखरामै बसेर रणनीतिक चाल चलिरहेका छन्। उनको अभियान कार्यान्वयन तहमा भने स्थायी समिति सदस्य खगराज अधिकारीले नेतृत्व गरिरहेका छन्। गुरुङ र अधिकारीका गण्डकीमा आ–आफ्नै गुट छन्।
जारी गण्डकी प्रदेश अधिवेशनलाई अधिकारीले शक्ति आर्जनको महत्त्वपूर्ण अवसरको रुपमा लिएका छन्। उनले गुरुङलाई कमजोर बनाउन उनकै जिल्लाका नेता मायानाथ अधिकारीलाई अध्यक्षमा अगाडि सारेका छन् भने यसअघि गुरुङ खेमामा रहेका युवा नेता रश्मि आचार्य, केन्द्रीय सदस्य राजीव पहारी, गोविन्दबहादुर नेपालीसहितका नेतालाई पनि आफूनिकट बनाएका छन्। रश्मिलाई गण्डकी सचिवको रुपमा अगाडि सारेसँगै उनले केन्द्रीय सचिव पद्मा अर्याल तथा अर्का वरिष्ठ नेता किरण गुरुङको पनि साथ खोजिरहेका छन्। यो तारतम्य मिलाउन महासचिव पोखरेल नै सक्रिय रहेको स्रोतको दाबी छ ।
अध्यक्षमा उम्मेदवारी दिँदै गरेका मायानाथ अधिकारी आफूलाई ६० प्रतिशत प्रतिनिधिको समर्थन रहेको बताउँछन्। गण्डकीको प्रथम अधिवेशनको लागि ११ जिल्लाबाट ९०७ प्रतिनिधि चुनिएका छन्। महासचिव पोखरेलले जिल्ला अध्यक्षसहित अन्य नेतालाई पनि आफ्नो प्रभावमा पार्ने प्रयास गरिरहेको पनि ती नेताले बताए।