१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध : मिश्रित प्रतिक्रिया



काठमाडौं । काठमाडौं महानगरपालिकाले खैनी गुट्का, पानपरागलगायतका सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा धुम्रपानलाई बिहीबारदेखि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धलाई कसैले सकारात्मक भनेका छन् भने कसैले अनुगमन प्रभावकारी नभए महानगरको बन्देज प्रभावकारी हुनेमा शंका रहेको बताएका छन् ।

महानगरपालिका सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्न दुई साताअघि नै सूचना जारी गरेको थियो । महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ र काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ ले बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, सार्वजनिक स्थलहरुको चारकिल्ला तोकी वरपर बेचबखिन निषेध गर्न सक्ने कानुनी व्यवस्था छ ।

राजधानीमा स्थानीय सरकारको यो कदमलाई स्वास्थ्यकर्मीले सकारात्मक बताएका छन् । ‘सुर्तीजन्य पदार्थ प्रतिबन्ध एकदमै राम्रो हो । यो गर्दा धेरै जनाको लोकल बिजनेस कम हुन्छ भन्ने देखिन्छ । क्यासिनोमा मान्छे जाने कम हुन्छ भन्ने सुनिन्छ । तर यस्तो अध्ययन भएको छ । ८ वटा देश, जहाँ यस्तो प्रतिबन्ध गराईएको छ, त्यहाँ ८० वटा ठाउँमा यस्तो अध्ययन भएको छ त्यो हेर्दा यस्तो व्यापार कम हुने भन्ने देखिएको छैन,’ डा. सुवोधसागर ढकालले भने, ‘लोकल व्यापारहरु झन् राम्रो भएको देखिएको छ । यसलाई नराम्रो त भन्नै मिल्दैन, यो एकदम राम्रो सुरुवात हो ।

धुम्रपान र सुर्तीजन्य पदार्थले धेरै प्रकारका रोगहरु निम्त्याउने जगजाहेर रहेको उनले बताए । ‘दिनमा एउटा चुरोट खाँदा आयु ११ मिनेट घटाउँछ । त्यसैले धुम्रपान गर्नेलाई २.५ पटक बढी प्यारालाइसिस हुन्छ । हृदयाघातपनि २.५ पटक बढी हुन्छ,’ उनले भने, ‘यसले शरीर, मुख गन्हाउने हुन्छ र लामो क्यान्सर २५ गुना बढी हुने सम्भावना हुन्छ । त्यसैले यो स्वास्थ्यको लागि एकदमै नराम्रो छ ।’

पहिला चुरोटको विज्ञापन हुन्थ्यो तर आज त्यो पाइदैन । त्यसपछि एक मिटरमा खान नपाइने व्यवस्था गरियो । निगरानी राम्रो नहुँदा नियमको कार्यान्वयन प्रभावकारी हुन नसकेको उनले बताए । ‘अहिले आएर सुर्तीजन्य पदार्थमा प्रतिबन्ध महानगरको पहिलो स्टेप हो । त्यसलाई प्रत्येक गाउँघरमा लैजान एकदम कठिन छ । यसमा प्रमुख काम निगरानी हुनुपर्छ,’ उनले भने, ‘म काठमाडौं महानगरपालिकाको यो कामलाई लिएर सकारात्मक छु र पूर्ण रुपमा यसलाई समर्थन गर्छु ।’

चुरोट खाने मानिसलाई सोध्दा पनि ५० प्रतिशतले छोड्न चाहेको पाइने उनले बताए । ‘तर चुरोट यति सजिलोसँग पाइन्छ । हाम्रो देशमा १४÷१५ वर्षका बालबालिकाले पनि सजिलै गएर किन्न सक्छन् । जुन संसारभरि कतै हुँदैन । सजिलोसँग नपाए मान्छे चुरोट छाड्न बाध्य नै हुन्छ ।’

घट्टेकुलोका पसले वुद्धिप्रसाद आचार्य भने महानगरपालिकाको बन्देजबाट केही असन्तुष्ट छन् ।

‘निर्णय राम्रो नै थियो तर व्यस्थापन गर्नु प¥यो नि । पसलमा स्टक हुन्छ, त्यो के गर्ने ? नाङ्लोमा लिएर बेचेर बसेको हुन्छ । उनीहरुले कसरी जीविकोपार्जन गर्छ ?,’ उनले भने, ‘ हाम्रो यो गरिब मुलुकमा असम्भव जस्तै लाग्छ । महानगरले गरेको यो निर्णय अलि उचित भएन । राम्रो काम गर्ने हो भने पहिले फोहोरको व्यवस्थापन गर्नुपर्ने हो ।’

रातोपुलकी व्यवसायी सावित्री दवाडीलाई व्यापार घट्ने चिन्ता छ । ‘व्यापार गुट्का, सुर्ती, चुरोटकै छ । महानगरपालिकाको निर्णयले बजारमा सरसफाइ हुने भयो तर व्यापार त पुरै कम हुने भयो,’ उनले भनिन्, ‘स्वास्थ्यको हिसाबले राम्रो पनि हो तर व्यापारीक हिसाबले हेर्दा पूरै जिरो व्यापार हुने भयो ।’

सर्वसाधारण ८० वर्षीया रुकु केसी भने यस्तो बन्देज गर्दा कारखाना नै बन्द हुनुपर्ने बताउँछिन् । महानगरपालिकाले बिक्रीवितरण रोके पनि बन्देज प्रभावकारी हुनेमा उनलाई शंका छ ।

‘कम्पनीबाट आएपछि व्यापारीले बेचिहाल्छन् । हामी नै किनेर खान्छौं । क्यान्सर र दमजस्तो रोगबाट जोगाउन महानगरले गरेको निर्णय राम्रो छ । तर, कम्पनी बन्द गर्नुप¥यो नत्र देखेर खान मन लाग्छ । लागेको बानि कसैले छोड्न सक्दैन । छँदै छैन भने कहाँबाट खाने ?,’ उनले भनिन् ।

NNB


प्रतिक्रिया दिनुहोस !