१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

कालो झण्डा देखाएर कोसीको नाम परिवर्तन हुँदैन, दुई तिहाई ल्याएर फेर्नुस्



काठमाडौं । मध्यपहाडी लोकमार्गको लामो यात्रामा निस्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादी आन्दोलनकारीलाई प्रदेशको नाम फेरबदल नहुने जवाफ दिएका छन् । त्यतिमात्रै होइन, ओलीले कोशीको नाम फेर्न भनेर आन्दोलन गरिरहेकाहरूलाई ‘धैर्य गरेर चुनाव पर्खिन, चुनावमा जनमत जितेर आउन अनि आफूले चाहेको निर्णय गराउन’ सल्लाह पनि दिए । मध्यपहाडी राजमार्गमा एमालेले जारी राखेको संकल्प यात्राका क्रममा शुक्रबार तेह्रथुमको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कालो झन्डा देखाएर, बाटामा रहेका सल्लाका रूख ढालेर समस्याको समाधान हुन्छरु सल्लाका रूखले समस्या ल्याएको हो ? समस्याको समाधान चाहेको हो भने शान्तिपूर्ण ढंगले छलफल गर्नुपर्‍यो।’

कोशी नाम खारेजीको माग राखेर आन्दोलन गरिरहेका आन्दोलनकारीहरूतर्फ लक्षित गर्दै ओलीले ‘बाटो नबिराउन’ पनि भनेका छन्। ‘जे गरे पनि आन्दोलन हुने होइन, कालो झन्डा देखाउनु अथवा अरू प्रकारका गतिविधि गर्नु, अझ त्यसलाई हिंसात्मक रूप दिनु, त्यसले कुनै समस्याको समाधान गर्दैन,’ ओलीले भने ‘लोकतन्त्रमा धैर्यता राख्नुपर्छ। लोकतान्त्रिक विधिबाटै समस्याको समाधान खोज्नुपर्छ। त्यस्तो धैर्यता एमालेबाटै सिक्न पनि ओलीले संकेत गरेका छन्। आफ्नो नेतृत्वमा रहेको सरकार ‘षड्यन्त्रपूर्वक हटाइएको’ गुनासो दोहोर्‍याउँदै ओलीले त्यसरी ‘बहुतै ठूलो अन्याय हुँदा पनि जनताको अभिमतका लागि लागिरहेको’ उल्लेख गरे। आन्दोलनकारीहरू भने ‘पहिचानको माग गर्नेहरूमाथि अन्याय भएको’ भन्दै प्रदेश सभाले निर्णय सच्याउनु पर्ने मागमा छन्।

एमाले कोशी प्रदेशको सबभन्दा ठूलो दल हो। ९३ सदस्यीय प्रदेश सभामा एमाले एक्लैसँग ४० सिट छ। एमाले सांसदहरू एमालेमाथि मात्रै निरन्तर आक्रमण गर्नेहरूले एमालेकै सहयोग बिना नाम तलमाथि हुनै नसक्ने तथ्य नबुझेको बताउँछन्। २०७९ फागुन १७ मा एमालेकै प्रस्तावमा प्रदेशको नाम ‘कोशी’ रहेको थियो। एमालेको प्रस्तावमा सहमत हुँदै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलले कोशीको पक्षमा मतदान गरेका थिए। एकीकृत समाजवादी र जनता समाजवादी मात्रै विपक्षमा उभिएका थिए। कोशीका पक्षमा मतदान गर्ने ८२ सांसद र एमालेका तीन नेता अध्यक्ष ओली, सचिव योगेश भट्टराई र महेश बस्नेतलाई प्रदेशमा अवरोध गर्ने आन्दोलनकारीहरूको खुला घोषणा छ।

आन्दोलनकारीले जिल्ला पुग्ने नेताहरूलाई आक्रमण प्रयास गरिरहेका छन्। उनीहरूको आक्रमणको निशानामा एमाले नेताहरू नै बढी परिरहेका छन्। अध्यक्ष ओली, सचिव योगेश भट्टराई, पूर्वमुख्यमन्त्री हिक्मत कार्की, कोशी नामका प्रस्तावक राम राना, नेता महेश बस्नेतहरू निशानामा परिसकेका छन्। बागमती प्रदेशमा हुन्जेल कोशीका आन्दोलनकारीहरूलाई कडा शब्दमा प्रहार गरिरहेका ओलीले कोशी प्रवेश गरेपछि आफ्नो ‘टोन चेन्ज’ गरेका थिए। आन्दोलनकारीलाई चिढ्याउने भाषा प्रयोग नगरे पनि कोशीबाटै उनले कोशी नामबारेमा एमालेले पुनर्विचार नगर्ने सन्देश भने प्रष्ट रूपमा दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !