२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

अहिलेको सरकार बुख्याचा हो, टाउकामा सुँगा वा काग बसेको थाहा हुन्न : केपी ओली



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली समाज अनुशासनहीन बन्दै गएको बताउनुभएको छ । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाजका मुख्य समस्या नै अनुशासन र आत्मानुशासन हराउँदै गएको बताउनुभयो ।

‘अहिलेको नेपाली समाजको एउटा गम्भीर समस्या भनेको अनुशासनको समस्या हो, मानिसहरू अनुशासित हुन मन पराउने, मनलाग्दी गर्न मन पराउने’, ओलीले भन्नुभयो, ‘पैसाले मात्र समाज उन्नत हुँदैन । आत्मानुशासनले उन्नत समाज निर्माण हुन्छ। पैसाले समाजको स्तर, चेतनाको स्तर र सामाजिक मूल्यहरूको स्तर निर्धारण गर्दैन ।’

आफैलाई आफ्नो अनुशासनमा राख्ने कुरामा अहिले गम्भीर न्यूनता आएको ओलीले बताउनुभयो । व्यक्ति अराजक र अनुशासनहीन भयो भने राज्यले पनि त्यसलाई अनुशासित बनाए राख्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । आज कोही सबैभन्दा बढी अनुशासनमा बस्छ भने त्यो खेलाडी नै भएको ओलीले बताउनुभयो । त्यसैले खेलाडीबाट सबैले अनुशासनको पाठ सिक्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘अहिले खेलाडी बाहेक अन्यमा त्यस प्रकारको अनुशासन कम छ, खेलमा जस्तो अनुशासन चाहिन्छ त्यस खालको अनुशासन सामाजिक अभ्यासको रूपमा अगाडि बढाउन पर्दछ’, ओलीले भन्नुभयो ।

अनुशासनलाई जीवन पद्धतिको रूपमा विकसित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानिसलाई अरूले बाध्य पार्ने होइन आफैँ अनुशासित हुने पर्नेमा ओलीको जोड छ ।
ओलीले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने संकल्प बोकेर हिँडेको राष्ट्रिय शक्ति भएको बताउनुभयो । त्यसैले एमालेका जनसंगठनको क्षेत्र बृहत्तर र व्यापक भएको ओलीको भनाइ छ । एमालेका जनसंगठनको राजनीतिकसँगै सामाजिक जिम्मेवारी पनि त्यतिकै भएको ओलीले प्रष्ट पार्नुभयो ।

ओलीले नेपाल खेलकुद महासंघका सदस्यहरूले जाजरकोट भूकम्प पीडितको उद्धार र पुनर्निर्माण महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । राष्ट्रिय खेलकुद महासंघका सदस्य खेलाडी मात्र नभएर उहाँहरूको सामाजिक र पारिवारिक जिम्मेवारी पनि भएकोले त्यस कुरामा उहाँहरू सचेत हुनु पर्ने बताउनुभयो ।

ओलीले खेलकुद खेलाडीको मात्र विषय नभएको पनि बताउनुभयो । खेलाडीले प्रतिस्पर्धा, पदक र सम्मानको लागि खेल्ने तर हरेक मानिसको स्वास्थ्य रहन कुनै न कुनै खेल खेल्नु पर्ने बताउनुभयो । ‘त्यसैले हामीले सबैको लागि खेल भनेको हो’, उहाँले भन्नुभयो । खेलको लागि लगातार अभ्यास आवश्यक रहेको ओलीले बताउनुभयो । बिना अभ्यास खेल सम्भव नभएको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले वर्तमान गठबन्धनको सरकार तरकारी बारीको बुख्याचाजस्तो भएको भन्दै केही गर्न नसक्ने बताउनुभयो । ‘अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने,’ उहाँले भन्नुभयो, ‘बुख्याचामात्रै होइन निकम्मा पनि छ ।’

ओलीले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको भन्दै एमाले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिनुभयो । उहाँले एमाले मिसन ८४ मा रहेको भन्दै एमाले विरोधीहरू एक्लै लड्छौं भन्ने आँटमा नभएको ठोकुवा गर्नुभयो । ‘हामीमात्रै हौं एक्लै लड्छौं भन्ने,’ उहाँले भन्नुभयो, ‘हामी लड्यौं तर उनीहरूले स–साना अंक जोडेर सरकार बनाएका छन् ।’

ओलीले यस्तै अवस्था रहिरहे मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्ने बताउनुभयो । ‘देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यीनिहरूको घाँटी एकैठाउँमा जोडिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !