२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र



तानसेनको गुफा चउरमा स्थापना गर्न भनेर ल्याइएको गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र परेको छ । गणेशको मूर्ति स्थापना गरी जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले आठ वर्षअघि काठमाडौँबाट तानसेन ल्याइएको गणेशको मूर्ति अलपत्र परेको हो । 

तानसेनका स्थानीय बासिन्दा र काठमाडौँका पूर्वमहानगर प्रमुख केशव स्थापितको पहलमा तानसेनमा ल्याइएको गणेशको मूर्ति पछिल्लो पाँच वर्षदेखि तानसेन–१० स्थित तेल्घामा अलपत्र परेको छ । तानसेनको गुफा चउरमा गणेशधाम बनाउने उद्देश्यले गणेशको मूर्ति ल्याइए पनि गुफा चउरमा नपुगी मूर्ति पाँच वर्षदेखि तेल्घामा टहराभित्र छोपेर राखिएको छ । यसअघि तानसेनको टुँडिखेलमा तीन वर्ष गणेशको मूर्ति अलपत्र परेको थियो । 

आठ वर्षअघि तानसेनको टुँडिखेलमा राखेर ४५ दिनसम्म विशेष पूजा गरेर राखिएको थियो । गणेशको मूर्ति छ टन तौल, १८ फिट उचाइ र आठ फिट चौडाइको छ । यो नेपालकै एक आकर्षक र ठुलो मूर्ति रहेको बताइन्छ । मूर्ति स्थापना गरेपछि नेपालसहित भारतका विभिन्न स्थानबाट हजारौँ धार्मिक पर्यटक भित्रिने अपेक्षाका साथ मूर्ति ल्याइएको थियो ।  तर लामो समयसम्म मूर्ति अलपत्र पर्दासमेत कसैको ध्यान पुग्न सकेको छैन । 

तेल्घामा टिनको छानो हालेर गणेशको मूर्ति राखेको पाँच वर्ष बितेपछि यसलाई के गर्ने भन्नेबारे कसैलाई चासो नभएको स्थानीय बासिन्दा बताउँछन् । तानसेन–१० का पूर्ववडाध्यक्ष लोचन तिमिल्सिनाले आर्थिक अभावमा मूर्ति गुफा चउरमा स्थापना गर्न नसकेको बताउनुभयो । 

गुफा चउरमा मूर्ति स्थापनाका लागि बनाइएको समितिका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएपछि मूर्ति स्थापित गर्ने काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो । गुफा चउर तानसेन–१० कै एउटा पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले मूर्ति स्थापना गर्ने योजना अघि सारिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । 

रकम अभावका कारण गुफा चउरमा गणेशधाम बनाउने योजना अघि बढ्न नसकेको तानसेनका पूर्वनगर प्रमुख अशोककुमार शाहीको पनि भनाइ छ । गुफा चउरसम्म पुग्ने सडकको स्तरोन्नति गर्ने कार्य भएपछि मूर्ति स्थापना गर्ने कामले पनि सार्थकता पाउने उहाँले बताउनुभयो । साथै मूर्ति स्थापना गर्न सुरक्षित स्थान र संरचना निर्माणको काम सकिएपछि अन्य कामले गति पाउने उहाँले बताउनुभयो ।   


प्रतिक्रिया दिनुहोस !