२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

भ्रष्टाचारको मुद्दा लागेपछि भीम उपाध्यायको प्रतिक्रिया-नेपाल जागेको बेला म सुतेको थिएँ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा विषेश अदालतमा दायर गरेपछि नेपाल सरकारका पूर्व सचीव भीम उपाध्यायले आफ्नो पहिलो प्रतिक्रिया दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा नेपाल जागेको बेला आफू सुतेको बताएका छन् । उपाध्यायले आफुले डेढ वर्ष अघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको बताएका छन् । त्यस्तै उनले मुद्दामा रत्तिभर दम नभएको दाबी गरेका छन् ।

यस्तो छ भीम उपाध्यायको स्टाटस ।

नेपाल जागेको बेला म सुतेको थिएँ। उठ्दा नेपाल सुतिसकेको छ। उठेपछि समाचार थाहा भयो , मुद्दा के हो विवरण बुझेपछि मेरो प्रतिक्रिया आउने नै छ। मैले डेढ वर्ष अघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको थिएँ।
यो मुद्दा दायर गर्न पर्ने बिषय नै हैन, प्रोजेक्ट फिनान्सियल एवं टेक्निकल म्यानेजमेन्टको ईस्यु मात्र हो भनेको थिएँ। तर अख्तियारले आफ्नो ब्याख्यात्मक अधिकार प्रयोगगरेर मुद्दा दायर गरेछ। मुद्दामा रत्ति दम छैन। अधिकार हुनेले अधिकारको दुरूपयोग गर्न सक्छन्। यसको दोष लिने कुरा हुदैन।
मेलम्ची टनेल प्रोजेक्ट कूल रू ८ अर्बको ठेक्का हो, राज्यको हिनामिना ७ अर्ब भएको भनेर मुद्दा परेको भनिएको रहेछ।
अभियोजनको डिटेल अझै अध्ययन गर्न पाएको छैन। मसंग सोधिएको कुरा तपाईँ अध्यक्ष भएको मेलम्ची बिकास बोर्डका ५ सदस्यबाट अनुमोदन गराई किन ठेकेदारलाई बिनाब्याज पेश्की दिएको भनिएको हो, जति रकम पेश्की दिएको छ त्यसको ब्याज राज्यलाई हानी गर्यो भनिएको रहेछ। त्यो पेश्कीको ब्याज र ब्याजको स्याज वर्षौँको जोडेर बिगो कायम गरेको बुझियो। अरूको बारेमा मलाई खास थाहा भएन तर मेरो बारेको कुरा यति रहेछ। म ०७३ कार्तिक देखि ०७४ भदौ १२ गतेसम्म खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको थिएँ, त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष थिएँ।

म ३ करोड नेपालीका सामू ढुक्क संग भन्छु, मबाट देशहितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुदैन त्यो पनि काकाकूल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रूपैया कुनै बेला दिएको छन् भने भनून्। मिटिंगमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन। रिटायर भएको नै अहिले ६ वर्ष बितिसकेको छ।

खैर बिशेष अदालतमा मुद्दा परिसकेको छ। विषय प्राविधिक बनेको छ। बदनीयत नभइ फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुदैन। स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाईका लागि उपस्थित हुनेनै छु। मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला। कहिले काही भाइरस लागेर रूघाखोकी लाग्छ। सामान्य उपचार गर्नुपर्छ । मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन । बुझ्नुस् रू ८ अर्बको ठेक्कामा रू ७ अर्बको भ्रष्टाचार ? त्यो पनि सबै प्रकृया र बैंक ग्यारेन्टी लिएर दिएको पेश्कीको ब्याज गणना गरेर उक्त ब्याज र सोको स्याज समेत जोडी निकालिएको हिसाब रकम हानी नोक्सानी गरेको आरोपमा !

अख्तियारका अनुसार खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ ।

त्यस्तै तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो माग गरिएको छ । तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ रूपैयाँ र हालका अध्यागमन विभाग प्रमुख रुद्रसिंह तामाङसँग ११ करोड ९ लाख १७ हजार ४५८ रूपैयाँ बिगो दाबी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !