१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

शनिबारदेखि फेरि पानी पर्ने, धनकुटामा भारी वर्षा



काठमाडौं । हाल नेपालमा जारी रहेको वर्षा शनिबारसम्मै रहने मौसमविदहरुले बताएका छन् । बुधबार र बिहीबारको तुलनामा शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले मंगलबार रातिदेखि नै नेपालका पूर्व र मध्य भागमा बदली र वर्षा हुँदै आएको छ । बुधबार दिनभरजसो पानी परेको थियो । यो क्रम आज बिहीबार पनि जारी रहने मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार विहीबार बिहान कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भैरहेको छ । काठमाडौं उपत्यकामा आज बिहान पानी पर्न रोकिए पनि दिउँसो एक दुई बजे पछाडि वर्षा सुरु हुने मौसमविद पुडासैनीले बताए । सुदूरपश्चिम र कर्णालीमा भने तुलनात्मक रुपमा मौसम प्रणालीको कम प्रभाव छ । त्यसैले ती प्रदेशमा बादल लागे पनि वर्षाको सम्भावना भने कम रहेको मौसमविद पुडासैनीले बताए ।

गत चौबिस घण्टामा धनकुटाको पाख्रिबास स्टेसनमा भारी वर्षा भएको रेकर्ड छ । पाख्रिबासमा ५२.४ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इलामको राँकेमा ४६.२, सिन्धुलीको रानिबास ४५.८, सिरहाको गोलबजारमा ४३.८, खोटाङ बजारमा ४२, जनकपुर विमानस्थलमा ३७, सप्तरीमा ३५.४ र रौतहटको गौरमा २६.८ मिलिमिटर वर्षा भएको छ । काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा रेकर्ड भएको छ । लेलेमा २१.६ मिलिमिटर वर्षा भएको छ ।


प्रतिक्रिया दिनुहोस !