१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

‘संसद बैठक अवरुद्ध गर्ने काम राजनीतिक होइन’ : केपी शर्मा ओली



सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाउनुभएको छ । 

अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेको पीडामा निहुँ खोजेर कांग्रेसले संसद अवरुद्ध गरिरहेको उहाँको टिप्पणी छ । 

नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुशी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रुपमा उपयोग गर्न पाउनुपर्ने उहाँले बताउनुभयो । एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘डेमोक्रेसी किन चाहियोभन्दा यी कुराहरुका लागि चाहियो । संसदमा सरकारबाट हट्नुपपर्छ भनेर निहुँ खोजेर संसद अवरुद्ध गर्ने, च्याठिने, आक्रोश पोख्ने, छाती पिटेर रुने ठाउँ होइन । हामीले समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानताका लागि, शान्ति सुब्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि राजनीति गर्नुपर्छ ।’ 

समृद्ध नेपालः सुखी नेपालीको प्यारामिटरमा अधिकार मात्र होइन, सुरक्षा र सम्मान पनि जोडिएको छ उहाँले भन्नुभयो, “असुरक्षा र असम्मानको स्थिति, अपमानको स्थितिबाट हाम्रो समाज गुज्रिएर आएको छ । त्यसकारण हामीलाई सुरक्षा र सम्मान चाहिन्छ ।” संसद बैठक प्रभावित भन्दा पनि चलायमान बनाएर जनताको पक्षमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखी राजनीतिक गतिविधिलाई अघि बढाउनु पर्ने आवश्यकता रहेको चर्चा गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस !