१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

इलाममा रक्सी चुरोट नियन्त्रण अभियान सुरु



इलामको सूर्योदय नगरपालिकामा लागु औषध दूब्यसनी,मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान थालिएको छ । 

सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य र मदिरा नियन्त्रणका लागि कानुन निर्माण नगरे पछि त्यसको कार्यान्वयनका लागि सचेतना अभियान थालिएको हो । ‘सभ्य, स्वच्छ र समुन्नत समाज हाम्रो सपना: लागु औषधमुक्त नगर हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ लागु औषध दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियानको सुरु गर्दै  नगर प्रमुख रण बहादुर राईले सभ्य समाज निर्माणका लागि उक्त अभियान सुरु गरिएको बताउनु भयो । उहाँले मानिस स्वस्थ रहे मात्र चलायमान बन्न सक्ने भएकाले स्वस्थ रहनका लागि मद्यपान, धूम्रपान जस्ता नशालु पदार्थको प्रयोग त्याग्न आग्रह गर्नु भयो । 

अभियानमा सहभागी भारतको दार्जिलिङ निवासी यूथ मोटिभेसनल स्पिकर प्रिमुस भुटियाले युवालाई कुलतमा नफस्न आग्रह गर्नु भयो । उहाँले आफ्नो जीवनको महत्त्वपूर्ण समय कुलतमा फसेको सुनाउँदै अहिले कुलतबाट मुक्त भएर त्यही पाठ पढाउँदै हिँडेको बताउनु भयो ।  उहाँले कुलतले मान्छेको जीवनलाई नर्कमा पुर्‍याउने भन्दै युवा–विद्यार्थीलाई कुलतबाट टाढै रहन आग्रह गर्नु भयो । 

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले नगरमा मदिरा तथा सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न १४ औँ नगर सभाले ऐन नै पास गरेको जानकारी दिँदै उक्त ऐन कार्यान्वयन हुँदै जाने बताउनु भयो । उहाँले स्थानीय मदिरा उत्पादन , प्रयोग र बिक्री वितरण सँगै बजारमा पाइने मदिराको बिक्री वितरण प्रयोग सम्बन्धी ऐन निर्माण गरी नगर सभाले पास गरी सकेको जानकारी दिनु भयो । 

नगरमा मदिरा बेच्ने पसलले अनिवार्य सूचीकृत हुनु पर्ने ऐनमा उल्लेख छ । साथै नगरले मदिरा बिक्री गर्ने स्थान, समय तोकेको छ । ऐन लागु भए पछि उक्त ऐन अनुसार हुने नगरले जनाएको छ ।  

सूर्योदय नगरपालिका क्षेत्रभित्रका विभिन्न बजार र वडामा आगामी २२ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा नगरपालिका क्षेत्रभित्रका युवा–विद्यार्थीलाई कुलतबाट बचाई सभ्य, सुसंस्कृत र कर्तव्यनिष्ठ नागरिक बनाउन कार्यक्रमको आयोजना गरिएको नगरका योजना अधिकृत खेम राईले जानकारी दिनु भयो । सचेतना अभियान १४ वटै वडामा सञ्चालन गरिने छ । 


प्रतिक्रिया दिनुहोस !