५ बैशाख २०८१, बुधबार
 |   Wed Apr 17 2024
Logo

मुलुकलाई ट्यागमा ल्याउन बालेनलाई प्रधानमन्त्री बनाउने हो कि ?



रुषा थापा, भक्तपुर 

मुलुकमा झण्डै दुई दशकपछि स्थानीय निर्वाचन भयो । २०५४ सालमा स्थानीय निर्वाचन भएको थियो । त्यसपछि लामो समयसम्म स्थानीय निर्वाचन भएन । तर, २०७४ सालमा स्थानीय निर्वाचन भयो । सो चुनावबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका नेता विद्यासुन्दर शाक्य निर्वाचित भए । 

उनले जनताको घरदैलोमा भोट माग्न जाँदा आफुलाई मेयरमा निर्वाचित गराए सय दिनमा एक सय दुई वटा काम गर्ने वाचा समेत गरेका थिए । यद्यपि, मेयर बनेपछि कामभन्दा पनि सहकारी र यातायात व्यवसायीहरुको कार्यक्रममा अतिथि बन्न पुग्थे, उनी । पाँच वर्षमा जनता र देशको हितका लागि हुने एउटा पनि काम उनले गरेनन् ।  

०७९ वैशाख ३० गते फेरि स्थानीय चुनाव भयो । एमालेलाई शाक्यलाई टिकट दिएन । केशव स्थापितलाई दियो । स्थानीय चुनावको बेला राजधानीमा फोहोर डङ्गुर भयो । महिनौंदेखि फोहोर उठाइएको थिएन । किनकि फोहोरमाथि पनि राजनीति भइरहेको थियो । राजनीतिक दलहरुले फोहोरलाई एजेण्डा बनाएर जनतासँग भोट मागिरहेका थिए । 

चुनावबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबट उठेका बालेन्द्र शाह (बालेन) निर्वाचित भए । र, स्थापितलाई जनताले पत्याएनन् । यसअघि नै २०५४ सालमा स्थापित काठमाडौंको मेयर भइसकेका थिए । उनले मेयर हुँदा काम गर्न नसकेको बारे जनता प्रष्ट थिए । त्यसकारण पनि उनलाई जनताले भोट दिएनन् । 

बालेनले ६३ हजारभन्दा बढी भोट ल्याएर चुनाव जिते । चुनाव जितेपछि उनले काठमाडौंको फोहोर नउठाएसम्म अबिर, माला, खादा नलगाउने र कुनै पनि सार्वजनिक कार्यक्रममा नजाने घोषणा गरे । सोहीअनुरुप उनले आफ्नो कार्यभार सम्हाले । राजधानीमा महिनौं दिनदेखि थुपारिएको फोहोर उनले उठाएरै छोडे । 

बञ्चरेडाँडाका स्थानीयहरुसँग वार्ता गरी फोहोर व्यवस्थापन गरेरै छोडे । बालेन मेयरमा निर्वाचित भएको २३ महिना भयो । यो अवधिमा उनले थुप्रै काम गरेका छन् । बालेनको कामबाट बच्चादेखि बुढासम्म हर्षित छन् । नेपालका जनता मात्र होइनन्, विदेशी समेत उनको काम देखेर दंग छन् । 

केही महिनादेखि ठूला राजनीतिक दलहरु (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत) गोप्य रुपमा बैठक बसे । बालेनले आफुहरुको राजनीति सिध्याइदिने उनीहरुमा अहिले पनि डर छ । राजनीति दलहरुले बञ्चरेडाँडाका स्थानीयलाई उचालेर फोहोर फ्रयाल्न नदिने, सुकुम्बासी र फुटपाथ व्यवसायीलाई पनि उचालेर उनीहरुलाई हटाउन गएको नगर प्रहरीलाई समेत कुट्न लगाउनेजस्ता काम गरे । 

राजनीतिक दलहरुले आफुलाई जतिसुकै असफल बनाउन खोजेपछि बालेन हरेस खाएनन् । उनी डराएनन् र काम पनि गर्न छोडेनन् । राजनीतिक दलहरुले ५० औं वर्षसम्म गर्न नसकेका कामहरु बालेनले २३ महिनामै गरेर देखाए । अहिले देशभरका जनताको मुखमा बालेनको नाम छ । 

प्रचण्ड सरकारले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जसपासँग नयाँ गठबन्धन गरेको पनि महिनौं दिन हुन लागिसक्यो । रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएको पनि झण्डै एक महिना हुन लागिसकेको छ । उनले सरकार बाहिर हुँदा आफु एक दिन मात्र गृहमन्त्री भए थुप्रै निर्णय र काम गर्ने दाबी गर्थे । 

बिडम्वना, उनले करोडौं जनताको खर्बौ रकम खाने सहकारीका सञ्चालक, कर्मचारीहरुलाई समेत समात्न सकेका छैनन् । बजारमा कालोबजारी गर्ने, सिण्डिकेट लगाउनेलाई समेत कानूनको दायरामा ल्याउन सकेका छैनन् । सरकार बाहिर हुँदा के के न गर्छु भन्ने हुटहुटी देखाउने उनी आज गृहमन्त्री हुँदा केही पनि गर्न सकेका छैनन् । 

यसले नै उनी जनताको लागिभन्दा पनि सत्ताको लागि राजनीतिमा आएको समेत स्पष्ट हुन्छ । यता, अर्थमन्त्री वर्षमान पुनले पनि अहिलेसम्म एउटा काम गरेका छैनन् । बजार पूरै मन्दीमा गइसक्यो । घरजग्गा, गाडी र सेयरको किनबेच छैन । व्यापारव्यवसाय पनि ठप्पै छ । सहकारी त डुबिहाल्यो । अहिले बैंक पनि डुब्ने अवस्थामा पुगेको छ । 

राज्यको ढुकुटीमा राजस्व आउन छोडिसक्यो । आम्दानीभन्दा बढी खर्च छ । विदेशी ऋण २७ खर्ब पुगिसक्यो । बैंकमा पैसा निकाल्ने सर्वसाधारणको भीड बढिरहेको छ । बजारमा पनि पाँच सय र हजारको नोट हाहाकार भइसकेको छ । सर्वसाधारण, व्यापारी सबैले पैसा लुकाइसके । अर्थमन्त्री पुनले अहिलेसम्म खर्च कटौती गर्ने निर्णय गरेका छैनन् । 

सरकारी कर्मचारी र जनप्रतिनिधिहरुको तलबभत्ता र सेवासुविधा कटौती गर्नेतर्फ उनको ध्यान नै गएको छैन । उनी पनि जनता र राष्ट्रको हितमा काम गर्न होइन, पार्टी र आफ्नो स्वार्थका लागि मन्त्री बनेको यहीबाट प्रष्ट हुन्छ । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि अहिलेसम्म सिको भाँचेका छैनन् । 

चार दशकदेखि कालो र हरियो प्लेटको ट्याक्सीको दर्ता बन्द छ । ट्याक्सी अभावका कारण सर्वसाधारणले विभिन्न समस्या झेल्दै आएका छन् । काठमाडौं उपत्यकामा करोडमाथि जनसंख्या छ । तर, ट्याक्सीको संख्या जम्मा नौं हजार छ । ट्याक्सी नहुँदा व्यवसायीहरुको दादागिरी बढेको छ । 

ट्याक्सी व्यवसायीहरु मिटरमा यात्रु बोक्दैनन् । न त यात्रुले भनेको ठाउँमा नै जान मान्छन् । आम सर्वसाधारण व्यवसायीले जे भन्यो त्यति नै तिरेर थोत्र्रा, पुराना र कबाडी ट्याक्सीमा यात्रा गर्न बाध्य भइरहेका छन् । यद्यपि, यसतर्फ यातायातमन्त्रीको ध्यान गएको छैन । उनले सर्वसाधारणको पीडा देखेपनि नदेखेझैं गरिरहेका छन् । 

यी तीनै जना पहिला पनि मन्त्री भइसकेका हुन् । यीनीहरुमा काम गर्ने क्षमता छैन भनेर पनि जनतालाई पहिल्यै थाहा थियो । तर, पार्टीले यीनीहरुलाई दोहोर्याएर मन्त्री दियो । मन्त्री भएपछि जनता र राष्ट्रको हितमा काम गर्नुको साटो कोही होली खेल्न गइरहेका छन् त कोही खादा लगाउनमै व्यस्त छन् । 

मन्त्री भएपछि एक मिनेटको पनि सदुरुपयोग गर्नुपर्छ । तर, यहाँ त मन्त्री भएर कोही होली खेल्न गएको देखिन्छ त कोही कार्यक्रममै व्यस्त हुन्छन् । पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री भए । बिडम्वना, उनले देश र जनताले सम्झिने गरी एउटा पनि राम्रो निर्णय गर्न सकेका छैनन् । आफ्नो कुर्सी जोगाउन उनी कहिले काँग्रेस त कहिले एमालेसँग टाँसिन्छन् । 

केपी ओली दुई पटक प्रधानमन्त्री भए । र, लामो समयसम्म प्रधानमन्त्री पदमा बसे । प्रधानमन्त्री हुँदा उनले पनि एउटै राम्रो काम गरेनन् । शेरबहादुर देउवा पनि पाँच पटक प्रधानमन्त्री भए । माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई पनि प्रधानमन्त्री भएका थिए । 

प्रधानमन्त्री हुँदा जनता र राष्ट्रको हितका लागि काम गर्नुपर्नेमा उल्टै नेपाल र भट्टराईको मिलेमतोमा बालुवाटारको ललिता निवासको सयौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पास गरियो । यति मात्र होइन थानकोटको मातातीर्थ र चावहिल कालोपुलको सरकारी जग्गा पनि व्यक्तिको नाममा पास गरियो । 

यता, खनालले सर्प पाल्ने र उपचार गर्ने नाममा जनताले तिरेको अर्बो कर झवाम बनाइदिए । अहिले देश नै रहन्छ कि रहँदैन ? भन्ने बहस जनतामा सुरु भइसकेको छ । प्रधानमन्त्री प्रचण्डले सरकारी कर्मचारीलाई मासिक रुपमा नभई घण्टाको हिसाबमा तलब दिने र सेवासुविधा कटौती गर्ने निर्णय पनि गरेका छैनन् । 

बैंकमा सर्वसाधारणले राखेको रकम जोखिममा छ । चिन्ताका कारण भोक र निन्दा नै हराएको छ, बचतकर्ताहरुको । सेयर, गाडी र घरजग्गा लगानी गर्नेहरु पनि डुबेपछि धमाधम भागेका छन् । कसैले त आत्महत्या पनि गरेका छन् । ०६९ सालमा राजनीतिक दलहरुले चुनाव गराउन नसकेपछि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गरियो । 

उनले चुनाव गराए । अनि राजनीतिक दलहरुलाई सरकार हस्तान्तरण गरेर बाहिरिए । त्यतिखेर नै राजनीतिक दलहरु असफल भइसकेको यसले देखाउँछ । अहिलेका राजनीतिक दलहरुले अब देश बचाउन सक्दैनन्, अर्थतन्त्र सुधार्न सक्दैंनन् भनेर जनताले बुझिसके । त्यसकारण अब राजनीतिक दलहरुले सत्ताबाट बाहिरिएर बालेनलाई प्रधानमन्त्री दिनुपर्छ । 

किनकि बालेनसँग देशलाई बचाउने भिजन छ । उनीसँग मुलुकलाई ट्यागमा ल्याउन सक्ने क्षमता छ । त्यसैले, अब राजनीतिक दलहरुले नैतिकताकै आधारमा सत्ताबाट बाहिरिएर बालेनलाई देशको प्रधानमन्त्री बनाउनुपर्छ । 


प्रतिक्रिया दिनुहोस !