२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

८४ अघि नै वाम एकता हुन्छ : नेता झलनाथ खनाल



पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले २०८४ साल अघि नै नेपालका वाम शक्तिबिच एकता हुने बताउनुभएको छ । 

इलाम क्षेत्र नं. २ को उपनिर्वाचन कार्यक्रममा सहभागी हुन आउने क्रममा शुक्रवार फिक्कलमा पत्रकार भेटघाट गरी पूर्व प्रधानमन्त्री खनालले वाम एकाको सुरु अहिलेको सरकार गठनबाट भइसकेकाले २०८४ को आम निर्वाचन अघि नै देशका वाम शक्ति एकीकरण हुने बताउनुभएको हो । 

पूर्व प्रम खनालले बाम एकताको कार्यदिशा आफैंले अगाडि बढाएको र त्यही अनुरूप अहिले सरकार गठन भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘बाम एकता जहिले पनि सम्भव छ, तर अब टाउका मिल्ने होइन विचार मिल्नेबिच एकता हुनुपर्छ ।’उहाँले २०८४ सम्म पुग्दा देशका सबै कम्युनिस्ट शक्ति एक भएर जाने बताउँदै विचार र सिद्धान्त मिलेपछि कसैले रोक्न नसक्ने बताउनुभयो । 

‘पार्टी एकतासँगै २०८४ सम्मा चुनावी एकता हुन्छ, यसका लागि मेरो अन्तिम कसरत हुनेछ’ नेता खनालले भन्नुभयो । 

उहाँले नयाँ सरकार गठनसँगै आम नागरिकमा उत्साह जगाएको बताउनुभयो । नेता खनालले फरक प्रसङगमा देश ठुलो सङ्कटमा रहेको बताउनुभयो । आर्थिक, तरलता , राजनीति अस्थिरता , चरम भ्रष्टाचार र युवा पयायनका कारण देश सङ्कटमा परेको उहाँको भनाइ छ । उहाँले आम नागरिक निराश भएको बेला बनेको नयाँ समीकरणको प्रचण्ड नेतृत्व सरकारले जनमुखी काम गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले वैशाख १५ गते इलाम २ मा हुने उपचुनावमा आफ्नो पार्टीको छुट्टै उम्मेदवार रहने प्रस्ट पार्नुभयो । इलाम २ मा नेकपा एसले युवा उम्मेदवार जित बहादुर राईलाई अघि सारेको छ । खनालले केन्द्रमा गठबन्धन भए पनि जिल्लाको उप निर्वाचनमा एमाले सहित अन्य दलसँग आफ्नो पार्टीले स्वस्थ प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । नेता खनालले ठुलो वाम शक्तिले आफूलाई साझा उम्मेदवारका रूपमा अघि सार्न खोजे पनि सत्ता साझेदार ठुलो दल नेकपा एमालेले एक्लै चुनाव लड्ने भनेपछि आफूले विश्राम लिएको बताउनुभयो । नेता खनाल २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं. १ मा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग पराजित भएपछि पहिलो पटक जिल्ला आउनुभएको हो । 

उहाँले इलाम क्षेत्र न. २ का विभिन्न चुनावी कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एसका जिल्ला उपाध्यक्ष चित्रकला बराइलीले जानकारी दिनुभयो । नेकपा एसका उम्मेदवार जितबहादुर राईले इलाम २ का न्यूनतम आवश्यकता पूरा गर्न आफ्नो उम्मेदवारी रहेको जानकारी दिनुभयो । 

Source : Gorakhapatra Online


प्रतिक्रिया दिनुहोस !