२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

बढ्दै छन् क्यान्सरका बिरामी



सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको सङ्ख्या धेरै रहेको कार्यालयका सूचना अधिकारी घनश्याम बुढाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा सुर्खेत जिल्लामा ११० जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो सङ्ख्या उपचारमा सहुलियत लिन आएका बिरामीको हो । यो वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहुलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहुलियत लिनका लागि निवेदन पेस गरेको कार्यालयले जनाएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले समेत क्यान्सरका बिरामीलाई उपचार सहुलियत दिने गरेको छ । विपन्न नागरिक यातायात सहायता कार्यक्रममार्फत रकम दिने गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले यो वर्ष १३० जना क्यान्सरका बिरामीलाई सहायता रकम दिइएको जानकारी दिनुभयो ।

यो वर्ष प्रदेश सरकारले ‘विपन्न नागरिक यातायात सहायता कार्यक्रम’ का लागि ५० लाख बजेट निर्देशनालयमा पठाएको थियो । उक्त रकमबाट १३० जना क्यान्सरका बिरामीले सहुलियत यातायात खर्च लिएका छन् । जिल्ला अनुसार फरक फरक रकम दिइएको निर्देशनालयले जनाएको छ ।

दैलेख, सुर्खेत र सल्यानका बिरामीले २० हजार, जाजरकोट, कालीकोट, रुकुमपश्चिम र जुम्लाका बिरामीले २५ हजार र मुगु, डोल्पा र हुम्लाका बिरामीले ३० हजारका दरले यातायात सहुलियत पाएका छन् ।

सरकारले क्यान्सर उपचारका लागि आर्थिक सहुलियत उपलब्ध गराउने गरेको छ । उपचारमा सहुलियत पाउन थालेपछि बिरामी पनि खुल्न थालेका छन् । उपचारका लागि स्वास्थ्य संस्था पुग्नेको सङ्ख्या पनि वृद्धि भएको छ । सुर्खेतका नौ वटै स्थानीय तहमा क्यान्सरका बिरामी भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले क्यान्सरका बिरामी बढेको बताउनुभयो ।

यो वर्ष वीरेन्द्रनगरबाट १३६ जनाले उपचारमा सहुलियतका लागि सिफारिस लिएका छन् । लेकबँेसी नगरपालिकाबाट यो वर्ष ३५ जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् । भेरीगङ्गा नगरपालिकामा पनि नयाँ क्यान्सरका बिरामी भेटिएका छन् । नगरपालिकाबाट २२ जना क्यान्सरका बिरामीले सहुलियत उपचारका लागि सिफारिस लिएका छन् । 

यस्तै गुर्भाकोट नगरपालिकामा १७ जना क्यान्सरका बिरामी फेला परेका छन् । उनीहरूले उपचारका लागि नगरपालिकाबाट सिफारिस लिएका हुन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुनका अनुसार सिम्ता गाउँपालिकाबाट यो वर्ष ११ जना क्यान्सरका बिरामीले सहुलियतका लागि सिफारिस लिएका छन् । बर्सेनि क्यान्सरका बिरामी थपिँदै गएका छन् ।

पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाबाट ११ जना क्यान्सरका बिरामीले उपचारमा सहुलियत लिन सिफारिस लिएका छन् । स्वास्थ्य शाखा प्रमुख महेन्द्रबहादुर खत्रीका अनुसार उपचारमा सहुलियत दिन थालेपछि बिरामीको अभिलेखीकरण हुन थालेको छ । पश्चिम सुर्खेतकै पञ्चपुरी नगरपालिकामा यो वर्ष ११ जना क्यान्सरका बिरामी फेला परेका छन् । स्वास्थ्य शाखा प्रमुख गङ्गादेव गिरीले पालिकाबाट उपचारका लागि ११ जनाले सिफारिस लिएको जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख इन्द्रबहादुर जैसुरीका अनुसार चौकुने गाउँपालिकामा तीन जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् । जसमध्ये दुई जना पुरुष र एक महिला रहेका छन् । 

कर्णालीमा क्यान्सर बढ्दो

कर्णालीमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । प्रदेश अस्पताल सुर्खेतमा दैनिक तीन÷चार जनामा क्यान्सर रोग देखापर्ने गरेको छ । दैनिक जाँचका क्रममा तीन/चार जना क्यान्सर रोगका बिरामी फेला पर्ने गरेको प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले जानकारी दिनुभयो । खानपानकै कारण क्यान्सर रोग बढिरहेको उहाँको भनाइ छ । 

Source : Gorakhapatra Online


प्रतिक्रिया दिनुहोस !