२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

बजेट अभावले नरैनापुर अस्पताल भवनको निर्माण रोकियो



बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुर गाउँपालिकाका जनताको स्वास्थ्य सेवामा जिल्लामै सबैभन्दा कम पहुँच छ । सोही कारणले सो क्षेत्रमा बेला बेलामा स्वास्थ्य शिविरहरु आयोजना गर्नुका साथै त्यहाँ रहेका स्वास्थ्य केन्द्रहरुको स्तरोन्नतीको कुरा उठ्ने गरेको छ । 

नरैनापुर गाउँपालिकाका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ नरैनापुर गाउँपालिका-४ मा निर्माण शुरु गरिएको अस्पताल भवनको निर्माण कार्य बजेट अभावका कारण रोकिएको छ ।

पालिकास्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने उद्देश्यका साथ सो भवन निर्माण सुरु भएपनि पर्याप्त बजेट नहुँदा काम रोकिएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । उहाँले १६ करोड ९७ लाख ५१ हजार ३५४ रुपियाँको लागतमा भवन निर्माण थालिएको जनाउँदै बजेट नआउँदा निर्माण रोकिएको बताउनुभयो । 

गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतका अनुसार अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति ६५ प्रतिशत छ । निर्माण कम्पनीलाई ८ करोड २९ लाख भुक्तानी गरिएको र बाँकी रकम नआउँदा निर्माणको कार्य अगाडी बढाउन सकिएको छैन । 

गाउँपालिकाका अध्यक्ष शाहले आउन बाँकी रहेको बजेट तत्काल पठाउन सम्बन्धित मन्त्रालयसँग आग्रह गर्दै त्यसो नगरिए समयमा भवन निर्माण हुन नसक्ने बताउनुभयो ।  

भवन निर्माणका लागि नरैनापुर गाउँपालिका र हनुमान कन्स्ट्रक्सनविच २०७९ चैत १० गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० असोज १० गते भित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि हनुमान कन्स्ट्रक्सनले पाउनु पर्ने रकम नपाएपछि काम रोक्नु परेको प्रोजेक्ट इन्चार्ज रोजन थापाले बताउनुभयो । 

लेखा अधिकृत बस्नेतले अर्थ मन्त्रालयले समयमा पैसा नपठाइदिँदा अस्पतालको निर्माण कार्य प्रभावित भएको बताउँदै २०८१ असार मसान्तका लागि भवन निर्माणको म्याद थप गरिएको जानकारी दिनुभयो । 

निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज थापाले बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या हुने गरेकाले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको छ । 

-Gorakhapatra Online


प्रतिक्रिया दिनुहोस !