२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

सङ्घीय गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहन्छु : राष्ट्रपति पौडेल



राष्ट्रपति रामचन्द्र पौडेल जनज्योति क्याम्पस भिमादको वार्षिकोत्सवको अवसरमा नवनिर्मित भवन उदघाटन गर्नुहुँदै । तस्विरः अमरराज नहर्की

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान जोगाउन आफू निष्ठापूर्वक लागिरहने बताउनुभएको छ । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो । 

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘राजनीतिक अस्थिरताको शृङ्खलाले यो देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता हो, मैले प्रधानमन्त्रीलाई पनि यही भनेको छु ।’ तपाइहरूको राजनीतिमा आफ्नो भन्नु केही नरहेको तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता भएको पौडेलले बताउनुभयो । 

‘प्रधानमन्त्रीले तपाई र म रहेसम्म केही हुँदैन भन्नुभएको छ’ उहाँले भन्नुभयो, “तपाईहरुले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु ।” 

उहाँले तनहुँलाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको चर्चा गर्नुभयो । जिपी कोइराला श्वास प्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र संसारमा कुनै पनि नेपालीले एक पटक नआइ नहुने भानु साहित्य उद्यानले तनहुँलाई विशिष्ट जिल्ला बनाएको उहाँको भनाइ छ । उहाँले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्यायक्षेत्रको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले भन्नुभयो, “विकासको काम रोकेर कानुनको कुरा नगरौं, न्याय पनि जनताको पक्षमा हुनुपर्छ यो मेरो सुझाव र सल्लाह हो ।” राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्ड रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिम प्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चित्ता गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

राष्ट्रपति पौडेलले त्यसका लागि एउटा राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी रहेको बताउनुभयो । “सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ” राष्ट्रपति पौडेलले भन्नुभयो । 

रोजगारी र शिक्षाको लागि शहर पस्ने र शहर हुँदै विदेशीने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय हुँदै क्याम्पस तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चित्ता नै आजको आवश्यकता हो भन्दै उहाँले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी रहेको बताउनुभयो ।

“ज्ञानको शक्ति र सामथ्र्य व्यापक र विराट छ, भूमण्डलीकरण र विश्वव्यापीकरणको आधुनिक युगमा प्राविधिक, व्यावसायिक र प्रतिस्पर्धी शिक्षा दिन सरकार, नीति निर्माता र शिक्षासँग सरोकारवालाले एक भएर सोच्नुपर्दछ” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले पठनपाठन र ज्ञानआर्जनको परम्परागत शैली र ढर्रा त्यागेर नीति निर्माण र योजना तहमा बस्नेले ग्लोबल भिलेजको जमानमा जहाँकहीं बस्ने र जहाँसुकै पुग्नेलाई प्रतिस्पर्धी, योग्य, स्वरोजगार, स्वाबलम्बी र आत्मनिर्भर हुने खालको शिक्षा दिन सक्नपर्ने बताउनुभयो ।

राष्ट्रप्रेम र देशभक्ति त छँदैछ, देश निर्माण गर्ने एक अनुशासित, सीपवान नागरिक तयार गर्ने संस्कार र शिक्षा दिन जरुरी रहेको आफूलाई लागेको चर्चा गर्नुभयो । सामाजिक अगुवा एवं शिक्षानुरागीको अथक प्रयासमा डेढ दशकअघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको उहाँले बताउनुभयो ।

तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भीमाद बजार र सेरोफेरो गुल्जार हुँदै गएपछि यहाँका शैक्षिक संस्थाको महत्व बढ्नु स्वभाविक भएको र यस क्षेत्र विस्तारै सडक, शिक्षा र सञ्चारसँगै विकासको बाटोमा अघि बढेको छ, भन्नुभयो । 

भीमादबाट रिसिङ, भीरकोट हुँदै चितवन र रिसिङ राम्जाकोट, पिपलटार हुँदै नवलपरासीसम्मको फराकिलो सडक पूर्वाधार बनाएर उत्तर–दक्षिणका छिमेकी देशलाई जोड्ने सम्भावनातर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । “निर्माणाधीन १४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाले बनाउने जलाशयले यस क्षेत्रको पर्यटकीय आकर्षण बढाउन योगदान दिनेछ” उहाँले भन्नुभयो । 

सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करिव एक करोडको लागतमा तीन तले भवन निर्माण गरिएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताउनुभयो । 

Source : Gorakhapatra Online


प्रतिक्रिया दिनुहोस !