२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

चौरासीको लक्ष्य एमालेको एकल बहुमत : अध्यक्ष ओली



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कास्की एमालेका नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ गराउने कार्यक्रममा ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत भएको बताउनुभएको छ । 

नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पद तथा गोपनीयताको सपथ समारोहमा शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो । अहिले नयाँ गठबन्धन नभएर नयाँ राजनीतिक समीकरण भएको उहाँको भनाइ छ । “हामीले नयाँ राजनीतिक समीकरण बनाएका छौँ । मिसन चौरासीबाट एमालेको एकल बहुमत आउँछ । बहुमत आए पनि हामी एक्लै सरकार चलाउँछौँ भन्दैनौँ, अरुलाई पनि सँगै लैजान्छौँ” अध्यक्ष ओलीले भन्नुभयो ।

राजनीतिमा फुट र एकता सधैँका लागि नहुने देखिएको उल्लेख गर्दै उहाँले सधैँ आफूले मात्र अवसर पाउनुपर्छ भन्ने मान्यता त्याग्न आग्रह गर्नुभयो । अधिवेशनमा वैचारिक र नेतृत्वको बहसपछि समाधान लिएर जनतामा जान उहाँले निर्देशन दिनुभयो । 

एमालेलाई एक्ल्याउने अनेक प्रयासका बाबजुद कास्कीमा एमालेले अभूतपूर्व नतिजा निकालेको भन्दै उहाँले कास्कीलाई ‘सुदृढ लालकिल्ला’ को संज्ञा दिनुभयो । पोखरा घोषणा गरे पनि, नगरे पनि पर्यटनको राजधानी नै भएको तर्क गर्दै उहाँले यसको थप विकासको नेतृत्व एमालेले गर्ने चर्चा गर्नुभयो । 

एमाले कास्कीको ११ औं अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको थियो । चैत १० र ११ गतेलाई निर्धारित अधिवेशनको नतिजा भने १४ गतेमात्र सार्वजनिक भएको थियो । अध्यक्षसहित पदाधिकारीमा पनि अधिकारी प्यानलकै उम्मेदवार विजयी भएका छन् । 


प्रतिक्रिया दिनुहोस !