२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

१३ जना प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित



प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुहुँदै । तस्बिर : नेपाल प्रहरी

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २१ गतेको निर्णयले एक तह पदोन्नति भएका प्रशासनतर्फका आठ जना र प्राविधिकतर्फका पाँच जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ्ग, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु, बिनोद घिमिरे र प्राविधिकतर्फका कमला लामा रहनुभएको छ । यसैगरी प्रावधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक पदमा पदोन्नति भएका लक्ष्मी थापा, नितिन लाखे, चेत नारायण ज्ञवाली र सोम प्रसाद पंगेनी रहनुभएको छ ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले आर्थिक लोभ, मोह तथा व्यक्तिगत महत्वकांक्षा र स्वार्थ भन्दामाथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर व्यावसायिक प्रहरी अधिकृतको रूपमा थप जिम्मेवार भई खरो रूपमा उत्रने विश्वास लिइएको बताउनुभयो । पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई आ–आफ्नो क्षेत्र अन्तर्गत संगठनको सुदृढिकरणका लागि रचनात्मक क्रियाशिलतातर्फ अग्रसर रहन उहाँले निर्देशन दिनुभयो ।

सरूवा, बढुवा लगायतका पद्धति र प्रक्रिया वैज्ञानिक, पारदर्शी तथा न्यायोचित हुनुपर्छ र सोही अनुरूप नेतृत्व तह सदैव चिन्तित भएर अगाडि बढिरहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “त्यसमा सम्पूर्ण प्रहरी कर्मचारीहरूबाट साझा प्रतिबद्धता, सामुहिक साथ र सहयोगको अपेक्षा लिएको छु ।” आफ्नो पद, जिम्मेवारी र संगठनप्रति जवाफदेही रहँदै संगठनको सुदृढिकरणमा सदैव दत्तचित भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मस्तिष्कमा समझदारी, हृदयमा इमानदारी र काँधमा जिम्मेवारी बोध गरी स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !