२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने तयारी



उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्नका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने बताउनुभएको छ ।

शुक्रबार लुम्बिनीमा लुम्बिन्धी अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा आफूले महासचिव गुटेरेससँग नेपालले प्रस्ताव ल्याएको खण्डमा समर्थन गरी प्रस्ताव पारित गर्न सहयोग गर्न आग्रह गरेको बताउनु भयो ।

उहाँले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि नेपालले आन्तरिक तयारी गरिरहेको पनि बताउनु भयो । उहाँले उच्चस्तरमा छलफल सकेर नेपाल सरकारले प्रस्ताव पारित गरेको खण्डमा अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न सहयोग गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

‘‘केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउनुभएको थियो । उहाँ लुम्बिनी पनि आउनुभएको थियो । लुम्बिनीबाट फर्किनासाथ काठमाडौंमा मेरो र उहाँको भेट भयो । मैले उहाँलाई तपाईं लुम्बिनीबाट भर्खर आउनुभएको छ, बुद्धको जन्मथलोबाट आउनुभएको छ, त्यसअर्थमा तपाईलाई म महत्वका साथ कुरा गर्छु, हामी अहिले व्यक्तिगत रुपमा म र केही साथीहरु हामी उच्च तहमा पनि छलफल गरिरहेका छौँ । बुद्धको विशेषतः ध्यान सम्बन्धी योगदान, शान्ति सम्बन्धी योगदानलाई ध्यान दिएर हामीले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्ने सोच बनाएका छौँ  ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘त्यो हामीले घोषणा गरेर हुँदैन, हामीले प्रस्ताव पारित गरेर त्यो प्रस्ताव संयुक्त राष्ट्रसंघमा ल्यायौँ भने तपाईले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न सहयोग गर्नुपर्छ, यसबारेमा हामी अहिले प्रारम्भिक छलफलमा छौँ , त्यसपछि उच्चस्तरमा छलफल सकेर हाम्रो नेपाल सरकारले प्रस्ताव पारित गरेमा त्यो प्रश्तावसहित तपाईं कहाँ आउने छौँ  । त्यतिबेला अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न तपाईले सहयोग गर्नु पर्दछ । हामी विश्वस्त छौँ, तपाईलाई सहयोग गर्नु हुनेछ ।’’ मन्त्री श्रेष्ठले बुद्धको बाटो मुक्ति यात्रामा आफैँ हिँड्ने बाटो भएको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस !